काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका जलशक्ति मन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ । ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री खड्काले बिहीबार भारतका समकक्षी पाटिलसँग श्रमशक्ति भवन नयाँ दिल्लीमा भेटवार्ता गरेका हुन् । भेटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर चाँडो तयार गरी आयोजना अघि बढाउने सहमति भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।
भेटमा टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेकोले पानी सञ्चालन कार्यविधिलाई चाँडै अन्तिम रूप दिई महाकाली सन्धीअनुसार पानी छाड्ने सहमति भएको छ । यस्तै, बाढी र डुबान व्यवस्थापनको लागि संयुक्त समितिको १४ औँ बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने र यसका लागि मन्त्रालयबाट औपचारिक पत्राचार गर्ने सहमति भएको छ ।
यसैगरी, सप्तकोशी बहुउद्देश्यीय परियोजनाको डिपिआर सम्बन्धमा पनि दुई पक्षीय बैठकहरूमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ । ऊर्जा मन्त्री खड्काले गत ५ नोभेम्बरमा भएको भेटघाट र छलफलले दुई देशको सहकार्यमा जलस्रोतको क्षेत्रमामा महत्त्वपूर्ण कार्यहरूका लागि अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गरे ।
भारतका जलशक्ति मन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डिपिआरलाई चाँडो अन्तिम रूप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताए ।
भेटमा मन्त्री खड्कासँगै मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी थिए ।