ढाका (बंगलादेश) । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले बङ्गलादेश, नेपाल, भुटान र भारतका सात पूर्वोत्तर राज्यहरूबीच जलविद्युत्, स्वास्थ्य सेवा तथा सडक सम्पर्क विस्तारका लागि सीमापार सहकार्यको एकीकृत रणनीतिका आधारमा अघि बढ्न सकिने सम्भावना रहेको बताएका छन् । ढाकास्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुन बङ्गलादेशमा रहेकी प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानासँग सोमबार भएको भेटका क्रममा उनले यस्तो बताएका हुन् ।
साझा पूर्वाधार तथा ऊर्जाका लागि आवश्यक पहलहरू अघि बढाएर क्षेत्रीय सहकार्य प्रवर्द्धन गर्न जरुरी रहको पनि उनको भनाइ थियो । ‘बङ्गलादेश, नेपाल, भुटान र भारतका सात राज्यहरूका लागि एकीकृत आर्थिक योजना हुनुपर्छ,’ उनले भने, ‘हामी एक्लाएक्लै भएर भन्दा धेरै फाइदा एकसाथ भएर लिन सक्छौँ ।’
भेटवार्तामा खास गरी बङ्गलादेश र नेपालबीच जलविद्युत् क्षेत्रमा भइरहेको सहकार्यलाई बलियो बनाउने विषय छलफल भएको थियो । गत अक्टोबरमा भारतको प्रसारण संरचना प्रयोग गरी नेपालले भारतमा ४० मेगावाट विद्युत निर्यात गर्ने गरी बङ्गलादेश–नेपाल र भारतबीच त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियाे । सम्झौतापछि एकदिनकै लागि भए पनि नेपालले उक्त परिमाणको विद्युत् बंगलादेशलाई निर्यात गरेको थियो । भेटवार्तामा दुवै पक्षले अझ ठूलो परिमाणमा जलविद्युत् परियोजनाहरू अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
प्रमुख सल्लाहकार युनुसले क्षेत्रीय स्वास्थ्य सुरक्षाको पक्षमा बङ्गलादेशको प्रतिबद्धता दोहोर्याए । उनले भने, ‘रङ्गपुरमा निर्माणाधीन एक हजार शय्याको अस्पताल नेपाली र भुटानी नागरिकहरूका लागि पनि खुला हुनेछ । हामी साझा समृद्धि र क्षेत्रीय स्वास्थ्य सुरक्षामा विश्वास गर्छौँ ।’
भेटमा उपसभामुख रानाले बङ्गलादेशसँग द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउने नेपाल सरकारको चाहना रहेको बताइन् । उनले भनिन्, ‘हाम्रा सबै सांसदहरू बङ्गलादेशसँग मिलेर काम गर्ने विषयमा उत्साहित छन् । हामी आपसी आर्थिक साझेदारी बलियो पार्न तथा जनता–जनताबीचको सम्बन्ध विस्तारका लागि पनि गम्भीर छौँ ।’
उनले हाल बङ्गलादेशका शैक्षिक संस्थाहरूमा, मुख्यतः मेडिकल कलेजहरूमा, २ हजार ७ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै बङ्गलादेशको शिक्षा प्रणालीको प्रशंसा गरिन् । साथै, दुई देशबीच शैक्षिक आदान–प्रदान र शैक्षिक सहकार्य विस्तारका लागि आग्रह गरिन् ।
भेटमा द्विपक्षीय भौतिक पूर्वाधार, सडक सम्पर्क विस्तार जस्ता विषयमा समेत छलफल भएको थियो । प्रमुख सल्लाहकार युनुसले नेपाल–बङ्गलादेशबीच सिधा सडक सम्पर्क विस्तार भए व्यापार लागत घट्ने, दुई देशका जनताको आवागमन तथा वस्तु ढुवानी सहज हुने जस्ता लाभ मिल्ने बताए ।
भेटमा नेपालका बङ्गलादेशस्थित राजदूत घनश्याम भण्डारी, प्रमुख सल्लाहकारकी दिगो विकास लक्ष्य संयोजक लमिया मोर्शेद तथा बङ्गलादेश परराष्ट्र मन्त्रालयकी महानिर्देशक इसरत जहाँ लगायतको सहभागिता थियो ।
(बङ्गलादेशकाे राष्ट्रिय समाचार एजेन्सी बिएसएसकाे सहयाेगमा)