काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो कारणले केही दिनअघि थापाथलीमा मेलम्ची खानेपानीको पाइप कुनै क्षति नपुगेको जनाएको छ । उक्त क्षेत्रमा विद्युतीय लाइन भूमिगत गर्ने काम करिब साढे तीन वर्षअघि नै सकिएकाले आफ्नो कारणले हाल आएर खानेपानीको पाइपमा क्षति नपुगेको प्राधिकरणले प्रष्टीकरण दिएकाे हाे ।
प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले सन् २०२१ सेप्टेम्बर/अक्टोबरमा म्यानुअल विधिमार्फत खनेर जमिन सतहभन्दा करिब १.१ मिटरमुनि पाइप बिछ्याइएको र हाल उक्त विद्युत् वितरण लाइन चालू रहेको बताए । उक्त समयदेखि लाइन चालु रहेको र काठमाडौँ उपत्यकाका खानेपानी लिमिटेड (केयुकेएल) को खानेपानी वितरण लाइनसँग विद्युत् वितरण लाइनको हालसम्म कुनै समस्या नरहेको प्रवक्ता घोषले उल्लेख गरे ।
‘खानेपानीको पाइप फुटेको क्षेत्रमा साँघुरो बाटो रहेकाले होरिजन्टल डिरेक्सन ड्रिलिङ प्रविधि प्रयोग नगरी म्यानुअल्ली काम गरिएकाले खानेपानीको पाइपमा कुनै पनि क्षति पुगेको छैन’, उनले भने, ‘प्राधिकरण र केयुकेएलबीच सन् २०२२ अप्रिलमा विद्युतीय पाइप र खानेपानी पाइपबीचमा कमसेकम ०.५ मिटर तेर्सो/ठाडो दूरी रहने गरी सहमति भएको थियो, उक्त सहमतिलाई पूर्ण रूपमा कार्यान्वयन गरी काम भइरहेको छ ।’