काठमाडौँ । पछिल्लो समय मुख्य गरेर पाटन, स्युचाटार, बालाजुलगायतका क्षेत्रमा बेलुकातिर लगातार बत्ती जाने–आउने गरेको भन्दै उपभोक्ताको गुनासो बढ्न थालेसँगै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य प्राविधिक समस्या समाधानको प्रयासमा आफैँ फिल्डमा खटिन थालेका छन् ।
यस्तो गुनासो आउन थालेपछि उनले बिहीबार राति अबेरसम्म भार प्रेषण केन्द्र स्युचाटारमा ग्रिडका समेत माथिल्लो तहका कर्मचारीलाई सँगै राखेर छलफल गरेका छन् । छलफलमा उनले तत्काल प्राविधिक समस्या पत्ता लगाई समाधानको उपाय खोजी गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
त्यसैगरी उनी शुक्रबार पनि करिब १० बजेतिर आकस्मिक निरीक्षणका लागि प्राधिकरणको लगनखेल वितरण केन्द्र र जावलाखेल वितरण केन्द्र पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।
‘पछिल्लो समय मुख्य गरेर पाटन, स्युचाटार र बालाजुलगायतका क्षेत्रमा बत्ती जान थालेको भन्दै ग्राहकहरूबाट गुनासो आउन थालेपछि समस्याको जड खोतल्ने र समाधान गर्ने प्रयासका लागि मैले बिहीबार राती अबेरसम्म भार प्रेषण केन्द्र र ग्रिडका माथिल्लो तहका कर्मचारीसँग बसेर छलफल गरी समस्याको जरो खोजेर समाधान गर्ने गरी छलफल गरेको छु,’ शाक्यले भने, ‘शुक्रबार बेलुका पनि लगनखेल र पाटनका केन्द्रहरूमा पुगेर त्यहाँको अवस्था बुझ्ने, ग्राहकको कति गुनासो आएको छ, त्यो गुनासो समाधान भएको छ कि छैन सबै कुरा मिहीन ढङ्गले अनुगमन गरेर फर्किएको छु । त्यहाँ आकस्मिक अनुगमनमा पुग्दा सन्तोषजनक अवस्था देखियो ।’
उनले प्राधिकरणको ध्यान बिजुली दिने मात्रै नभई गुणस्तरीय बिजुली दिनेमा केन्द्रित रहेको भन्दै बेला बखत आउने सामान्य प्राविधिक समस्यालाई हेरेर नआत्तिन आग्रह गर्दै प्राविधिक समस्या देखिए तत्काल समाधानका लागि प्राधिकरण अघि बढ्ने पनि बचन दिए ।
प्राधिकरणले पनि जाडो बढेसँगै हिटर, एसी लगायतका विद्युतीय उपकरण चलाउने क्रम बढेसँगै विद्युत् माग पनि बढ्न जाने हुँदा कहिलेकाहीँ सामान्य प्राविधिक समस्या देखिन सक्ने भन्दै त्यसलाई पनि समाधान गरेर अघि बढ्ने जानकारी दिएको छ ।