काठमाडौँ । पाँचथर र ताप्लेजुङ जिल्ला भएर बहने इङ्वा खोलामा सञ्चालित ९.७ मेगावाटको माथिल्लो इङ्वा खोला साना जलविद्युत् केन्द्रले मर्मत-सम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरेको छ । इङ्वा हाइड्रोपावर लिमिटेडका अनुसार मर्मत कार्य सम्पन्न भई विद्युत्गृहमा रहेका दुई युनिटमध्ये युनिट-१ बाट विद्युत् उत्पादन पुनः सुरु गरिएको हो ।
गत जेठ ९ गते बिहान अविरल वर्षासँगै आएको भीषण बाढी र पहिरोका कारण आयोजनाको इन्टेक, पाइपलाइन, पावरहाउस तथा ट्रान्समिसन लाइन लगायतका भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको थियो । काबु बाहिरको परिस्थितिका कारण साढे २ महिनादेखि आयोजनाको विद्युत् उत्पादन पूर्णरूपमा बन्द हुन पुगेको थियो ।
कम्पनीका वित्त प्रबन्धक गोकुल पाण्डेका अनुसार निरन्तरको मर्मत र सम्भारपछि साउन २१ गते युनिट-१ सञ्चालनमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाह गरिएको छ ।