काठमाडौँ । गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयवासीका लागि ५ लाख कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त नियुक्ति सम्बन्धी सम्झौता पत्रमा गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडका अध्यक्ष मित्रबहादुर श्रेष्ठ र आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद प्याकुरेलले हस्ताक्षर गरे ।
प्रवर्द्धक कम्पनी गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजना दोलखाको कालिञ्चोक गाउँपालिकामा अवस्थित छ । नदी प्रवाहमा आधारित आयोजनाको कुल जडित उत्पादन क्षमता ९५० किलोवाट रहेको छ । यस आयोजनाबाट वार्षिक करिब ५.६ गिगावाट घण्टा ऊर्जा उत्पादन भइरहेको छ ।
आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको सिंगटी सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।