काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । वित्तीय व्यवस्थापनपछि आयोजना निर्माणले गति लिएको हो ।
विभिन्न प्याकेजको निर्माण निर्माण समानान्तर रूपमा अघि बढिरहेकाले हालसम्म आयोजनाको भौतिक निर्माण प्रगति करिब २५ प्रतिशत पुगेको प्रवर्द्धक कम्पनीले जनाएको छ । लमजुङको बेसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन आयोजनामा सिभिल, हाइड्रो–मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल तीनवटै क्षेत्रको काम सन्तोषजनक रूपमा अघि बढिरहेको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीका अनुसार आयोजनाको इन्टेक तथा डिसेन्डर क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । डिसेन्डरको मुख्य संरचनाको निर्माण तीव्र गतिमा भइरहेको छ भने आवश्यक कङ्क्रिट ढलान, संरचनागत निर्माण तथा गुणस्तर परीक्षणको काम निरन्तर भइरहेको कम्पनीले जनाएको छ । यसअघि रातिको समयमा समेत कङ्क्रिट ढलान गरी निर्माणलाई निरन्तरता दिइएको थियो ।
यस्तै, आयोजनाको विद्युत्गृह निर्माणका लागि आवश्यक उत्खनन कार्य पनि तीव्र गतिमा अघि बढिरहेको छ । विद्युत्गृह क्षेत्रको भू–संरचना अनुसार कटिङ, ढलान व्यवस्थापन तथा स्थायित्व कायम गर्न आवश्यक पूर्वाधार निर्माण जारी रहेको छ । आयोजनाको निर्माण तालिकाअनुसार विद्युत्गृह निर्माणलाई प्राथमिकतामा राखेर काम हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सिभिल निर्माणसँगै हाइड्रो–मेकानिकलतर्फ पनि महत्त्वपूर्ण प्रगति भएको छ । आयोजनामा जडान हुने हाइड्रो–मेकानिकल उपकरणहरूको फेब्रिकेसन कार्य हेटौँडास्थित उत्पादन केन्द्रमा सुरु भइसकेको छ । आवश्यक स्टिल संरचना, गेट, पाइप तथा अन्य मेकानिकल उपकरणहरू डिजाइनअनुसार निर्माण भइरहेको छ ।
त्यसैगरी, आयोजनाका लागि आवश्यक इलेक्ट्रो–मेकानिकल उपकरणहरूको उत्पादन प्रक्रिया पनि सुरु भएको छ । यसअघि अन्तर्राष्ट्रिय कम्पनीसँग भएको सम्झौताअनुसार उपकरणहरूको डिजाइन तथा उत्पादन कार्य युरोप र भारतस्थित उत्पादन केन्द्रहरूमा अगाडि बढाइएको छ । उपकरण निर्माण सम्पन्न भएपछि नेपाल ल्याएर आयोजना स्थलमा जडान गर्ने कम्पनीको योजना छ ।
कुल ११ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान रहेको आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले ७ अर्ब ५० करोड रुपैयाँ सह–वित्तीयकरण ऋण लगानी गर्ने सम्झौता भइसकेको छ । बाँकी रकम कम्पनीले स्वपुँजीमार्फत जुटाउने गरी वित्तीय व्यवस्थापन गरेको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् करिब ८ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको १३२ केभी उदिपुर सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना छ । विद्युत् बिक्रीका लागि प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भइसकेको छ ।
आयोजनामा प्रभावित स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको कम्पनीले जनाएको छ । स्थानीय बासिन्दाले उत्साहपूर्वक आयोजना क्षेत्रमा लगानी गरेका छन्, जसले आयोजनाप्रति समुदायको विश्वास र अपनत्वलाई थप मजबुत बनाएको कम्पनीको धारणा छ ।
कम्पनीले निकट भविष्यमा आयोजना प्रभावित स्थानीयवासी तथा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने तयारीस्वरूप आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।