काठमाडौं । सिराहाको धनगढीमाई नगरपालिकाले कृषकले सिँचाइका लागि उपयोग गरेको विद्युतको महसुल तिरिदिने भएको छ । नगरपालिकाले सूचना जारी गरी चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरुप कृषकको सिँचाइ मिटरको विद्युत महसुलको बिल भुक्तानी गरिदिने भएको हो ।
किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले ‘कृषि मिटरको विद्युत महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत नगरपालिकाले सिँचाइका विद्युत महसुल भुक्तानी गर्ने धनगढीमाई नगरपालिका नगरप्रमुख शिवशंकर महतोले जानकारी दिए । नगरपालिकाले निःशुल्क विद्युत उपलब्ध गराउने भएपछि यहाँका कृषक खुसी भएका छन ।
धनगढीमाई नगरपालिकाले सुरु गरको ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ स्थानीय सरकारले सञ्चालन गरेको योजनामध्ये नमूना भएको स्थानीय श्याम यादवले बताए । यसबाट कृषक खेतीतर्फ आकर्षित हुने उनको भनाइ छ ।
असार मसान्तसम्मको महसुल कृषक आफैँले र साउनदेखिको सिँचाइ महसुल नगरपालिकाले तिर्ने धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेले जानकारी दिए । ‘सिँचाइमा अनुदान दिए, कृषि क्षेत्र विस्तार भएमा कृषि उत्पादन बढ्ने र किसानको आर्थिक अवस्थामा पनि सुधार आउने छ’ उनले भने ।’
कृषि मिटरको महसुल भुक्तानीका लागि आगामी वैशाख ४ गतेभित्र निवेदन, नगरिकता प्रमाणपत्रको प्रतिलिपि, २०७९ असारसम्मको भुक्तानी गरेको बिजुलीको सक्कली रसिद तथा २०७९ साउनदेखिको भुक्तानी दिन बाँकी सक्कली बिल र वडा कार्यालयको सिफारिसपत्रसहित कृषि विकास शाखामा पेस गर्नुपर्नेछ ।