काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सरकारको निर्णयबमोजिम गत भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री (हाल निवर्तमान) एवम् प्राधिकरण सञ्चालक समिति (बोर्ड) का अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा बसेको बोर्ड बैठकले सहिद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेको हो । घिसिङले मन्त्री पदबाट राजीनामा दिनुअघि मंगलबार बसेको बोर्ड बैठकले यस्ताे निर्णय गरेको हो ।
जेन–जी सहिद परिवारका २७ जनाबाट रोजगारीका लागि निवेदन दिइएको थियो । निवेदकको यकिन गरी पायक पर्ने प्राधिकरणको कार्यालयमा निजको शैक्षिक योग्यताका आधारमा बढीमा तीन तहसम्मको पदमा करार नियुक्त गर्ने निर्णय भएको हो ।
सरकार र जेन–जी आन्दोलनका प्रतिनिधिबिच भएको सम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि तथा सहिद परिवारका सदस्यका निवेदनका आधारमा २७ जनालाई रोजगारी दिने निर्णय भएको घिसिङले बताए ।
कार्यविधिमा जेन–जी प्रदर्शनमा घाइते तथा अपाङ्ग भएको व्यक्ति वा नजिकको परिवारका सदस्य र सहिद परिवारको सदस्यलाई प्रचलित कानुन बमोजिम निःशुल्क शिक्षा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत र रोजगारी सम्बन्धी व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र उद्योग, वाणिज्य तथा आपूर्तिलगायतका विषयगत मन्त्रालयबाट मिलाउने गरी आवश्यक कार्य हुने व्यवस्था छ ।
आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सरकारले सहिद घोषणा गरेको थियो ।