काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजनालाई चाँडो अगाडि बढाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । कोशी प्रदेशबाट प्रतिनिधिसभा तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँगको कोशी प्रदेशको ऊर्जा र सिँचाइ क्षेत्रको विकासका लागि बुधबार मन्त्रालयमा आयोजित छलफलमा उनले सरकारले राखेको ऊर्जा विकास मार्गचित्रको लक्ष्य पूरा गर्न सरकारले ठूला जलविद्युत् आयोजनालाई चाँडो अगाडि बढाउनेगरी काम गरिरहेको बताएका हुन् ।
'सरकारले आगामी १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ, उक्त लक्ष्यलाई पूरा गर्न सरकारलाई सांसदहरूको महत्वपूर्ण सहयोगको खाँचो छ,' मन्त्री खड्काले भने । उनले उत्पादित विद्युत्को बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी सुनिश्चित रहेको उल्लेख गरे ।
ऊर्जामन्त्री खड्काले कतिपय आयोजनामा सरकारले लामो समयदेखि लगानी गरेपनि प्रतिफल शून्य रहेको बताउँदै अब त्यस्तो हुन नदिन सरकारले चाँडो आयोजना अगाडि बढाउने बताए । लामो समयदेखि अल्झेर बसेका आयोजनालाई सरकारले चाँडो अगाडि बढाउन खोजेको मन्त्री खड्काको भनाइ थियो ।
पूर्वमन्त्री योगेश भट्टराईले ऊर्जा र पर्यटनमार्फत कोशी प्रदेशको विकास सम्भव भएको बताए । उनले विद्युत् आयोजनाको प्रतिफल स्थानीय जनताले पाउनेगरी योजना बनाउनुपर्ने उल्लेख गरे । कोशी प्रदेशको आर्थिक विकासका लागि तमोर जलाशययुक्त आयोजनालाई लगानी जुटाएर अगाडि बढाउनुपर्ने धारणा उनले राखे ।
नेता भट्टराईले पाथिभरा मन्दिर सबैको साझा भएकाले यसलाई विवादमा ल्याउनु उपयुक्त नहुने बताए ।पाथिभरामा केवलकार निर्माण भए यहाँको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ थियो ।
पूर्वमन्त्री सीता गुरुङले ऊर्जा क्षेत्रमार्फत मुलुकको आर्थिक विकास गर्नका लागि सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताए । उनले आयोजनालाई प्राथमिकताका आधारमा अगाडि बढाउनुपर्ने उल्लेख गरे ।
पूर्वमन्त्री अमललाल मोदीले सुनसरी मोरङ सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाएर अगाडि बढाउनुपर्ने बताए । उनले वर्षाद्को समयमा तराई क्षेत्रमा बाढी आउने भएकाले यसको दीगो समाधान खोज्नुपर्ने उल्लेख गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकारले ऊर्जा र सिँचाइका आयोजनालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले ऊर्जा विकास मार्गचित्रलाई पूरा गर्न जनप्रतिनिधिको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
छलफलमा प्रतिनिधिसभा सदस्य रामकुमार राई, सुहाङ नेम्वाङ, महेश बस्नेत, अम्बरबहादुर रायमाझी, राजेन्द्र राई, उर्मिला थेवे, हर्कमाया विक, राष्ट्रिय सभा सदस्य रुक्मिणी कोइरालालगायतले जनतालाई अनुभूति हुने खालका ऊर्जा र सिँचाइका कामलाई अगाडि बढाउन सरकारलाई आग्रह गरेका थिए । मन्त्री खड्काले निरन्तर अन्य प्रदेशका सांसदहरूसँग पनि ऊर्जा र सिँचाइ क्षेत्रको विकासका लागि छलफल गर्ने कार्यक्रम रहेको छ ।