काठमाडौँ । सेती हाइड्रो पावर प्रालिले कास्कीको मुसेतोडामा निर्माण गरेको २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ । आयोजनाका सम्पूर्ण संरचना निर्माण तथा जडान सकिएपछि परीक्षण उत्पादन सुरु गरिएको हो ।
आगामी १५ दिनसम्म परीक्षण उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क विद्युत् दिएपछि व्यावसायिक उत्पादन सुरु गरिने आयोजना प्रमुख उज्जवल रेग्मीले ऊर्जा खबरलाई बताए । उत्पादित विद्युत् १.५ किलोमिटर टाढा लेखनाथ–दमौली १३२ केभी प्रसारण लाइनअन्तर्गत ‘लुप इन लुप आउट’ प्रविधिमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरिएको उनले जानकारी दिए ।
उनका अनुसार आयोजनाको बाँध पृथ्वी राजमार्गको गगनगौडादेखि २ किलोमिटरको दूरीमा अवस्थित छ । आयोजनाबाट वार्षिक १३३.४३२ गिगावाट घण्टा (१३ करोड ३४ लाख ३२ हजार युनिट) विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ ।
५ अर्ब ५ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७५ प्रतिशत ऋण लगानी र २५ प्रतिशत स्वपुँजी लगानी छ । कुमारी बैंक लिमिटेडको अगुवाइमा नबिल बैंक र नेपाल पूर्वाधार विकास बैंकको लगानी रहेको छ । स्वपुँजीमध्ये डोल्मा इम्प्याक्ट फण्ड–२ ले ४९ प्रतिशत, सर्वसाधारणले ३० प्रतिशत र बाँकी संस्थापक सेयरधनीहरूले लगानी गरेका छन् ।