विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
प्रतिनिधि सभा निर्वाचन–२०८२

काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनको सरगर्मी यतिबेला देशैभर बढेको छ । मतदान हुने दिन फागुन २१ आउन अब जम्मा २८ दिनमात्र बाँकी छँदा आम नागरिक, मतदाता, दल, उम्मेदवार तथा निर्वाचन आयोगलाई चटाराे परेको छ । मतदानकाे दिनगन्ती सुरु भइसकेकोले पनि चुनावी सरगर्मी बढेकाे देखिन्छ ।  

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरी ९ गते चुनाव चिन्हसमेत लिएका उम्मेदवारहरू यतिबेला आ–आफ्ना समर्थकसहित विभिन्न कार्यक्रम गरी नागरिकको मत आकर्षित गर्न लागि परेका छन् । विभिन्न राजनीतिक दल, प्रत्यक्ष र समानुपातिकका साथै स्वतन्त्र उम्मेदवारले आ–आफ्नो पक्षमा जित निकाल्न प्रचारप्रसार, घरदैलो, सभा तथा जुलुसको कार्यक्रमलाई व्यापक बनाउँदै लगेका छन् ।  

राजनीतिलाई नै ‘करिअर’ बनाएर राजनीतिक दलमा सक्रिय रहँदै आएकाबाहेक विभिन्न पेशा–व्यवसायमा संलग्न रही नयाँ राजनीतिक दलबाट नयाँ उम्मेदवार बनेकाहरूको समेत यस निर्वाचनमा उल्लेख्य सहभागिता देखिन्छ । यसले चुनावी माहोललाई रोचक र मत परिणामको अनुमान गर्न कठिन बनाइरहेको अनुभूति गरिँदै छ । कतिपय उम्मेदवारकाे प्रचारप्रसार शैली पनि विगत निर्वाचनको भन्दा विल्कुलै फरक देखिएका छन्, जुन सामाजिक सञ्जालमा 'भाइरल' समेत बनिरहेका छन् ।

यसै पृष्ठभूमिमा ऊर्जा क्षेत्रका विभिन्न निकायमा रहेर विभिन्न पदीय जिम्मेवारी, भूमिका तथा दायित्व निर्वाह गरी आएका ८ उम्मेदवारसमेत चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् । 

काे हुन् ऊर्जाका ८ उम्मेदवार ?  

ऊर्जा क्षेत्रबाट उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल, नेपाल विद्युत् प्राधिकरणका पूर्व–कार्यकारी निर्देशकसमेत रहेका ऊर्जाविज्ञ डा. मुकेशराज काफ्ले, ऊर्जाविज्ञ कुशल गुरुङ, ऊर्जा विज्ञ तथा व्यवसायी श्रीराम न्यौपाने, नेपाल विद्युत् प्राधिकरणका पूर्व–प्रबन्धक दीपक चौधरी, ऊर्जा व्यवसायी भरतप्रसाद पराजुली र इन्जिनियर तथा ऊर्जा व्यवसायी सुरज पाण्डे चुनावी मैदानमा उत्रिएका हुन् । 

यी मध्ये कोही देश दौडाहा गर्दै चुनावी माहोल आफ्नो पक्षमा बनाउन तल्लीन छन् भने कोही आफ्नै निर्वाचन क्षेत्रमा दौडधुप गरिरहेका छन् ।

कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणमा दुई कार्यकाल कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरी वर्तमान चुनावी सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत बनेका थिए । हालै मन्त्री पदबाट पदबाट राजीनामा दिएर उज्यालो नेपाल पार्टीको अध्यक्षको जिम्मेवारीसहित राजनीतिमा सक्रिय भएका हुन् । उनले काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । हाल उनी यतिबेला आफू र आफ्नो पार्टीलाई जिताउन देश दौडाहामा छन् । 

डा. गोविन्दराज पोखरेल प्युठानबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । नेपाली कांग्रेस पार्टीका तर्फबाट उम्मेदवार बनेका उनी ऊर्जा, विकास योजना र सार्वजनिक नीति निर्माण तहका अनुभवी विज्ञका रूपमा परिचित छन् । पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण अभियानलाई नेतृत्व गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृतसमेत भएर काम गरेका उनी नवीकरणीय ऊर्जा प्रवर्द्धन र ग्रामीण ऊर्जा पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) को कार्यकारी निर्देशक समेत भएर काम योगदान गरेका छन् । 

ऊर्जा अर्थशास्त्र र विकास नीतिको अध्ययन, अनुसन्धान तथा अध्यापनसँग जोडिएका पोखरेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानमा प्राध्यापकको रूपमा पनि संलग्न रहँदै आएका छन् । जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा र दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय अध्ययन तथा प्रकाशनमा सक्रिय उनले आइपिसिसीको नवीकरणीय ऊर्जासम्बन्धी प्रतिवेदनमा संयोजकीय लेखकको रूपमा समेत काम गरिसकेका छन् । उनी नेपाली कांग्रेसको निवर्तमान केन्द्रीय सदस्यसमेत हुन् । 

डा. मुकेशराज काफ्ले नेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी निर्देशक हुन् । पुल्चोक इन्जिनियरिङ कलेजका प्राध्यापकसमेत रहेका काफ्लेले नेपाली कांग्रेस पार्टीबाट महोत्तरी–१ बाट उम्मेदवार बनेका छन् । लामो समयदेखि ऊर्जा क्षेत्रमा सक्रिय काफ्ले नेपाली कांग्रेस महासमिति सदस्यसमेत हुन् । उनले इन्जिनियर एसोसिएसनको उपमहासचिव, प्रजातान्त्रिक इन्जिनियर एसोसिएसनका संस्थापक महासचिव, पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिलगायतका पदमा रही जिम्मेवारी पूरा गरिसकेका छन् । हाल उनी निर्वाचन क्षेत्र केन्द्रीय चुनावी अभियान चलाइरहेका छन् ।

ऊर्जाविज्ञ कुशल गुरुङ कास्की क्षेत्र नम्बर–२ बाट उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी बनेका छन् ।  कास्की उनको गृहजिल्ला समेत हो । करिब साढे २ दशकदेखि नवीकरणीय ऊर्जा विकासका क्षेत्रमा सक्रिय रहेका उनले नवीकरणीय ऊर्जामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समानरूपमा विज्ञता हासिल गरेका छन् । निजी निकायमा विज्ञको रूपमा जिम्मेवारी सम्हाल्दै विभिन्न सरकारी संस्थामा समेत परामर्श सेवासमेत प्रदान गर्दै आएका छन् । 

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) र जल तथा ऊर्जा परामर्शदाता संघ (विक्यान) का अध्यक्ष समेत रहेका उनी सौर्य ऊर्जा, वायु ऊर्जा, बायोग्यास जस्ता नवीकरणीय ऊर्जा तथा कार्बन उत्सर्जन न्यूनीकरण तथा कार्बन व्यापार जस्ता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । यस्तै, उनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सञ्चालकको जिम्मेवारी समेत पूरा गरिसकेका छन् । उनी विन्ड पावर नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा गण्डकी ऊर्जा प्रालिका सञ्चालकसमेत हुन् । दुई महिनाअघि कुलमान घिसिङको नेतृत्वमा खुलेको उज्यालो नेपाल पार्टीमार्फत उनी राजनीतिमा सक्रिय भएका थिए ।

इन्जिनियर श्रीराम न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऊर्जा तथा जलस्रोत विभाग प्रमुख समेत हुन् । उनले नागढुङ्गा सुरुङमार्गको आयोजना निर्देशक भई काम गरेका थिए । सुरुङ निर्माणको समेत विज्ञता हासिल गरेका ऊर्जाविज्ञ न्यौपाने ऊर्जा उद्यमीसमेत हुन् । उनले रास्वपाको तर्फबाट तनहुँ–२ बाट उम्मेदवारी दर्ता गरेका छन् । हाल उनी आफ्नो क्षेत्रमा चुनावी प्रचारप्रसारको अभियानमा छन् ।

ऊर्जा उद्यमी भरत पराजुली स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को केन्द्रीय सदस्यसमेत हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् । ऊर्जा उद्यमी पराजुली लामो समयदेखि ऊर्जा क्षेत्र तथा समाजसेवामा सक्रिय रहँदै आएका छन् । उनी एकीकृत व्यापार कम्पनी तथा ब्रम्हायणी हाइड्रो पावरका अध्यक्ष हुन् । हाल उनी आफ्नो गृहजिल्लासमेत रहेको सिन्धुपाल्चोकको आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानमा छन् ।

डा. दीपक चौधरी नेपाल विद्युत् प्राधिकरणका पूर्व–प्रबन्धक हुन् । उनी उज्यालो नेपाल पार्टीका तर्फबाट उनले सप्तरी–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्राधिकरणमा २२ वर्ष सेवा गरी हालै प्रबन्धक पदबाट राजीनामा दिई उनी राजनीतिमा सक्रिय भएका हुन् ।

नेतृत्व विषयमा विद्यावारिधि गरेका डा. चौधरीको प्रशासकीय, व्यवस्थापकीय तथा नीतिगत विषयमा राम्रो दख्खल छ । २ दशकभन्दा लामो समयदेखि ऊर्जा क्षेत्रको अध्ययन र विकासमा सक्रिय उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धानसम्बन्धी थुप्रै लेख तथा कृतिहरू प्रकाशित गरेका छन् । चौधरीका ‘मधेसी समाज’, ‘मधेश विद्रोहको सेरोफेरोमा रहेको रूपान्तरण’, ‘विकासको सन्दर्भमा पूर्वी एसियाको आँखीझ्याल’, ‘तराई/मधेश अफ नेपाल एन्थ्रोपोलोजिकल स्टडी (अङ्ग्रेजीमा)’ जस्ता कृतिहरू प्रकाशित छन् । यी कृतिमार्फत उनले मधेशको अधिकारका लागि वकालत गर्दै आएका छन् ।

नेपालको अधिकांश गाउँबस्ती र कैयौँ देशको समेत भ्रमण गरेका चौधरी विकास विज्ञ, कुशल व्यवस्थापक, अनुसन्धाता र सामाजिक अभियन्ताको रूपमा चर्चित छन् । नातावाद, कृपावाद, जातिवाद, सम्भ्रान्तवाद, भ्रष्टाचार जस्ता विकृतिलाई समाजको सबैभन्दा ठूलो शत्रु मान्ने चौधरी यस्ता विकृतिको उन्मुलनका लागि आफ्नो ठाउँबाट सक्रिय रहँदै आएका छन् । देशमा सुशासन तथा सामाजिक न्यायसहितको समृद्धि आफ्नो लक्ष्य भएको चौधरीले बताएका छन् । सप्तरी बिषहरियाका मूलवासीसमेत रहेका चौधरीको मुख्य प्रतिस्पर्धा जनमत पार्टीका अध्यक्षसमेत रहेका डा। सिके राउतसँग हुने देखिएको छ । 

इन्जिनियर सुरज पाण्डे उद्योगी तथा व्यवसायी हुन् । उज्यालाे नेपाल पार्टीका तर्फबाट रुपन्देही–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनले काठमाडौँ विश्वविद्यालयबाट इन्जिनियरिङ अध्ययन गरेका छन् । उनले इटालीबाट छात्रवृत्तिमार्फत स्नातकोत्तर अध्ययन पूरा गरेका छन् । २७ वर्षको उमेरमै तिलोत्तमा–टिकुलीगढमा उद्योग स्थापना गरेका उनले जलविद्युत् उत्पादन, आपूर्ति तथा वितरण क्षेत्रमा समेत काम गरेका छन् ।

आफ्ना उद्योग व्यवसायमा १०० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष र कैयौँलाई अप्रत्यक्ष रोजगारी उपलब्ध गराउन सफल भएका उनी निर्माण कम्पनी कन्स्ट्रक्सन इम्पेक्सका अध्यक्ष समेत हुन् । उक्त कम्पनीमार्फत उनले जलविद्युत् आयोजनाहरूको समेत निर्माण अघि बढाउँदै आएका छन् । उनी रुपन्देही उद्योग संघका एसोसिएट सदस्यसमेत रहेका छन् । हाल उनी आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसारमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३