विद्युत अपडेट

  • प्राधिकरण : ८४६५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७७३ मे.वा.घन्टा
  • आयात : २४२३ मे.वा.घन्टा
  • निर्यात : ८९६५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५३४९७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४७७ मे.वा.
२०८३ जेठ २२, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को विधान साधारणसभाबाट पारित गरेर मात्र निर्वाचन प्रक्रिया अघि बढाउन ऊर्जा उद्यमीहरूले माग गरेका छन् । काठमाडौँको बालुवाटारस्थित सिल्भर वक पार्टी प्यालेसमा बुधबार आयोजित 'ऊर्जा क्षेत्रको विकासका लागि अबको इपान' विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ता उद्यमीहरूले यस्तो आग्रह गरेका हुन् ।

कार्यक्रममा वरिष्ठ ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले संस्थाको साधारणसभाबाट पहिले विधान पारित गर्न र हालका लागि निर्वाचन स्थगित गर्न सुझाव दिए । उनले विधान पारित भएको केही दिनपछि सबैलाई समेट्ने गरी निर्वाचन गरेर संस्थालाई एकताबद्ध बनाउन आह्वान गरे । गफ गर्नेभन्दा काम गर्ने व्यक्तिहरू नेतृत्वमा आउने वातावरण बन्नुपर्नेमा उनको जोड थियो ।

विधान संशोधन र संस्थागत एकताको बहस

ऊर्जा उद्यमी इन्जिनियर विनोद देवकोटाले अघिल्लो निर्वाचनमा आफ्नो उम्मेदवारी विधानकै कारण खारेज भएको स्मरण गराउँदै इपानका सल्लाहकार इन्जिनियर भानुभक्त पोखरेलको संयोजकत्वमा बनेको विधान संशोधन तथा पुनर्लेखन समितिले स‌ंशाेधन मस्यौदा तयार पारेको र २३औँ वार्षिक साधारणसभाले पारित गरेको विधान कार्यान्वयन गर्न नेतृत्व समक्ष आग्रह गरे ।

त्यस्तै, नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष एवं ऊर्जा उद्यमी इन्जिनियर सुवास बरालले इपान अब लगानीकर्ताहरूको मात्र नभई देश र जनताको आवाज बनिसकेको उल्लेख गर्दै सदस्यहरूले उठाएका विषय समेटेर सबैलाई मान्य हुने गरी विधान संशोधन गरेपछि मात्र निर्वाचनमा जान उपयुक्त हुने सुझाव दिए ।

इपानका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका दाबेदार उत्तम भ्लाेन लामाले संस्थाभित्र फुटभन्दा एकता आवश्यक रहेको बताउँदै सहमतिका लागि कार्यसमिति तयार भएमा आफू दाबी छोड्न तयार रहेको घोषणा गरे । उनले इपानलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी महासंघको ढाँचामा लैजानुपर्ने प्रस्ताव समेत गरे ।

नेतृत्वको जवाफ र प्रतिबद्धता

इपानका पूर्व अध्यक्ष कृष्णप्रसाद आचार्यले कार्यसमितिमा देखिएका विवादहरूलाई छलफलका माध्यमबाट समाधान गर्न आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाए । उनले आगामी साधारणसभामा लगिने विधानमा कुनै पनि जालझेल वा छलकपट हुन नहुने र त्यसलाई साझा दस्ताबेजका रूपमा परिमार्जन गरिनुपर्ने बताए ।

कार्यक्रमको सञ्चालन गर्दै इपानका महासचिव बलराम खतिवडाले नेतृत्वमा नैतिकता हुनुपर्ने र नयाँ पुस्तालाई अवसर दिनुपर्ने विचार राखे । उनले सक्षम साथीहरूलाई नेतृत्वमा ल्याउन आफूहरू खुला रहेको र आफू नेतृत्वमा आएमा २ वर्षभन्दा बढी पदमा नबस्ने घोषणा गर्दै त्यागको नयाँ संस्कृति सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले वि.सं. २०५७ मा स्थापना भएको इपानको विधान यसअघि २०६७, २०७६ र २०७८ सालमा परिमार्जन भइसकेको जानकारी दिँदै बदलिँदो परिस्थिति अनुसार यसलाई अझ परिष्कृत गर्न कार्यसमितिले गम्भीरतापूर्वक गृहकार्य गरिरहेको बताए ।

निजी क्षेत्रको योगदान र चुनौती

कार्यक्रममा इपानका उपमहासचिव प्रकाश दुलालले कार्यपत्र प्रस्तुत गर्दै हाल कुल जडित क्षमताको ८५ प्रतिशत अर्थात् ३,६६२ मेगावाट विद्युत् निजी क्षेत्रबाट उत्पादन भइरहेको जानकारी दिए । साथै, करिब ५,८०० मेगावाट क्षमताका आयोजनाहरू निर्माणको विभिन्न चरणमा र २,१०० मेगावाट पिपिए (विद्युत् खरिद सम्झौता) गरेर निर्माणको तयारीमा रहेको उनले बताए ।

दुलालका अनुसार जलविद्युततर्फ ४३,६९४ मेगावाटका ९८२ आयोजना र सौर्य ऊर्जातर्फ २,४८० मेगावाटका १४६ आयोजनाहरू अघि बढिरहेका छन् तर, कुल आयोजनाहरूमध्ये करिब ७०० मात्र इपानमा आबद्ध हुनुले सदस्यहरूको आकर्षण कम देखिएको भन्दै उनले सबैलाई आबद्ध हुने वातावरण बनाउनुपर्ने औँल्याए ।

कार्यक्रमका अन्य वक्ताहरूले लगानीकर्ताहरू सङ्गठित नभए सरकारले बेवास्ता गर्ने चेतावनी दिए । बिमा प्रिमियम वृद्धिको आन्दोलनलाई उदाहरण दिँदै उनीहरूले संस्थालाई विभाजन हुन नदिई सर्वसम्मत निर्णय र बलियो सङ्गठन निर्माणमा लाग्न सुझाव दिए ।

इपानको २४औँ वार्षिक साधारणसभाको एजेन्डामा रहेको विधान संशोधनलाई मुख्य विषय बनाई आयोजना गरिएको भेलामा जलविद्युत् क्षेत्रका करिब ३५० व्यवसायी एवं लगानीकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३