काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्रालिद्वारा विकसित बजेट सूचना व्यवस्थापन प्रणाली सम्बन्धी सफ्टवेयर ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ । यसका लागि दुई संस्थाबीच मंगलबार सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रालिका स्ट्राटेजी एण्ड इनोभेसन निर्देशक उमेश रघुवंशीले एक समारोहका बीच हस्ताक्षर गरेका छन् । उक्त सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाका लागि क्षमता अभिवृद्वि गरी स्रोत परिचालनमा सहयोग पुग्ने बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा सिइओ रेग्मीले बैंकिङ इकोसिस्टममा बजेट ३६० को प्रयोगले बैंकको बजेट र योजना क्षमतामा वृद्धि हुनुका साथै स्रोतहरूको उपयुक्त परिचालन सुनिश्चित गर्न, बैंकको वित्तीय उद्देश्यहरू पूरा गर्न र वित्तीय व्यवस्थापनमा प्रभावकारी निर्णय लिन मद्दत पुर्याउने र समग्र बैंकको दिगो विकासमा योगदान पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
इन्फोडेभलपर्स प्रालिका स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुवंशीले ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेर बजेट ३६० कार्यान्वयन गर्न पाउँदा उत्साहित भएको बताउँदै यस सफ्टवेयरले बैंकको वित्तीय योजनाको कार्यलाई सरल बनाउन र डेटा–आधारित निर्णय लिन सहयोग पुर्याउने समेत जानकारी दिए ।
उनका अनुसार ‘बजेट ३६०’ स्वचालित रूपमा वित्तीय व्यवस्थापन गर्ने एक आधुनिक वित्तीय व्यवस्थापन प्रणाली हो । उक्त सफ्टवेयरमा स्वचालित लक्ष्य निर्धारण, रियल–टाइम रिपोर्टिङ, निरन्तर ट्र्याकिङ लगायतका सुविधा उपलब्ध छ । यो सफ्टवेयर बैंकले आफ्नो अनुकूलतामा प्रयोग गर्न सक्ने गरी डिजाइन गरिएको छ । उक्त प्रणाली कुनै पनि कोर बैंकिङ सिस्टम (सिबिएस) सँग सहज रूपमा एकीकृत गरेर जान सकिने गरी डिजाइन गरिएको छ ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, सुमन पोखरेल, सहायक प्रमुख कार्यकारी अधिकृत, चन्द्रराज शर्मा र इन्फोडेभलपर्स प्रालिका कर्पोरेट म्यानेजर सुवास पौडेललगायतको उपस्थिति थियो ।