काठमाडौँ । संखुवासभामा ९.१५ मेगावाटको ‘इसुवा आंशिक–जलाशय क्यासकेड–२ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि प्रवर्द्धक विष्ट इनर्जी हाउस प्रालिले विद्युत् उत्पादन अनुमति पत्र (लाइसेन्स) माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको हो । आयोजनाले ४०.१ मेगावाटको इसुवा खोला पिआरओआर क्यास्केड आयोजनाको टेलरेसबाट निस्कने पानीलाई पुनः प्रयोग गरी विद्युत् उत्पादन योजना बनाएको छ ।
प्रवर्द्धक कम्पनका अनुसार आयोजना संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर १, ५, ६ र चिचिला गाउँपालिका–३ मा पर्ने अरुण नदी र इसुवा खोलाको दायाँ किनारमा अवस्थित रहनेछ । आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन र प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट मिति २०८२ चैत २७ गते स्वीकृत भइसकेको छ । यस आयोजनाबाट वार्षिक ६७.६१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।
आयोजनाका मुख्य संरचनाहरू अन्तर्गत २८ मिटर लामो हेडरेस पाइप, १२२ मिटर लामो स्टिल पेनस्टक पाइप र अरुण नदीको दायाँ किनारमा सतहमा रहने विद्युत्गृह निर्माण गरिनेछ, जसमा २ वटा फ्रान्सिस टर्बाइन रहनेछन् । आयोजनाले उत्पादन गर्ने बिजुली करिब १४ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको शीतलपाटी सब–स्टेसनमा जोडिनेछ ।
आयोजनाबाट २०८५ सालको चैतभित्र व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।