तुलसीपुर । दाङको तुलसीपुर बजारमा विद्युतका खाली तार रहेको र ‘हाइटेन्सन्’ लाईन नै खाली हुँदा ‘करेन्ट’ लाग्ने जोखिम थियो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले ‘हाइटेन्सन’ लाईनका खाली तार हटाएर नयाँ तार राखेको छ, भने तारमा ‘कभर’ पनि राखेको छ ।
साथै यसअघि ३० स्क्वायर मिटर तार रहेकोमा ती तार हटाएर एकसय स्क्वायर मिटर तार राखिएको छ । यसअघि तार चुडिने, क्षमता नधान्नेजस्ता समस्या पनि अन्त्य हुने वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशलीले बताए । उनका अनुसार तुलसीपुर बजार क्षेत्रलाई सुरक्षित बनाउन यस्तो कार्य गरिएको हो ।
बजार क्षेत्रभित्रको ४५ किलोमिटर तारलाई त्यसरी कभर राख्नुका साथै एकसय स्क्वायर फिट बनाइएको हो । एक करोड रूपैयाँ लागतमा ती तार फेरिएको उनको भनाइ छ । तुलसीपुरमा विद्युतका ५२ हजार दुईसय ९० ग्राहक रहेका छन् ।
रगैँचामा भवन बन्दै दाङको शान्तिनगर गाउँपालिका–५ रगैँचामा विद्युतको भवन निर्माण प्रक्रिया अघि बढेको छ । जहाँ ‘नो लाइट’ सेवाको कार्यालय छ । त्यसकालागि स्थानीय गिरीराज बस्नेतले जग्गा दिएपछि भवन नै बन्न लागेको हो । यसअघि त्यहाँ भाडाबाट उक्त कार्यालय सञ्चालनमा थियो ।
शान्तिनगर, दङ्गीशरण गाउँपालिकालगायतलाई सेवा दिन त्यहाँ एक जना कर्मचारीसहित उक्त सेवा सुरु गरिएको हो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशलीका अनुसार केही दिनअघि मात्रै टेण्डर आह्वान भएको उनले बताए । भवन निर्माण भएपछि सेवा प्रवाहमा थप सहजता आउने उनको भनाइ छ ।