काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) ले लामाबगर–बाह्रबिसे २२० केभी प्रसारण लाइन निर्माणमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलअनुसार निजी क्षेत्रसँग साझेदारी गर्ने भएको छ ।
तामाकोसीका सहायक नदीहरु ल्याप्चे खोला र रोल्वालिङ खोला करिडोरका जलविद्युत् आयोजनाहरूको विद्युत् प्रसारण गर्न साझा लाइन निर्माण गर्न लागिएको जनाएको छ । त्यसका लागि सो करिडोरमा बन्ने निजी क्षेत्रका आयोजनासँग सहकार्य गर्ने भएको हो ।
सो नदी करिडोरमा विद्युत् उत्पादनको प्रक्रियामा रहेका निजी आयोजनाहरूले उक्त प्रसारण लाइन निर्माणमा साझेदारी गर्न चाहेमा १५ दिनभित्र आशयपत्र पेश गर्न आरपिजिसिएलले बिहीबार सूचना जारी गरी आह्वान गरेको छ ।
यसअघि, तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइनसमेत मोडलमा निर्माण गर्न कम्पनीले निजी आयोजनासँग सहकार्य गर्ने गरी पुस २ गते सम्झौता गरिसकेको छ ।