दोलखा । माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको क्षतिग्रस्त संरचना सरसफाइका क्रममा निस्किएका कवाडी चोरीमा संलग्न ३ जना अभियुक्त धरौटीमा हिरा भएका छन् । जिल्ला अदालत दोलखामा मंगलबार भएको थुनछेक बहसपछि अभियुक्तलाई जनही ३ लाख ३० हजार धरौटीमा छाड्ने आदेश दिएको हो ।
धरौटीमा हिरा हुनेहरू सिंगटी बजारमा कवाडी तथा फेन्सी व्यवसाय गरी बस्ने विधिचन महतो, सिआरसी कम्पनीका साइड इञ्चार्ज कामे भनिने छिरिङ शेर्पा र निमा तमाङ रहेका छन् । धरौटी लिएर तारेखमा छाड्ने र प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने जिल्ला न्यायाधीश माधवप्रसाद सुवेदीको आदेशमा उल्लेख छ ।
गत असोज ११ र १२ गतेको भीषण पहिरोले माथिल्लो तामाकोसीको हेडवर्क्समा रहेको डिस्याण्डर, कल्भर्ड र सुरक्षा कक्ष भवनमा क्षति भएको थियो । पहिरोपछि विद्युत् उत्पादनलाई नियमित गर्न आपत्कालीन रूपमा जम्मा भएको पहिरो पन्छाउने, क्षतिग्रस्त संरचना हटाउने काम जारी छ । क्षतिग्रस्त संरचना हटाउने क्रममा तामा र सिल्भर केबलहरू कवाडीका रूपमा निस्किएका थिए । तिनै सामान आयोजनास्थलबाट गत कात्तीक १६ गते राती चोरी भएर १७ गते बिहान सिंगटीमा प्रहरीले फेला पारेको थियो ।
अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आकस्मिक रूपमा क्षतिग्रस्त संरचनाको मर्मत र सरसफाइका लागि रोल्वालिङ खोला जलविद्युत् आयोजनामा कार्यरत निर्माण व्यवसायी हाइ हिमालय कन्ट्रक्सन प्रालिलाई जिम्मा दिएको छ । निर्माणको जिम्मा ठेकेदारलाई दिए तापनि त्यहाँबाट निस्केका कवाडी भने अपर तामाकोसीकै सम्पति हुन्छ ।
चोरी भएको २ हजार किलोग्राम कवाडीसहित इलाका प्रहरी कार्यालय सिंगटीले विभिचन महतोलाई पक्राउ गरेको थियो । छिरिङ र निमा पछि पक्राउ परेपछि उनीहरूलाई सरकारी वकिलको कार्यालयले छाडेको थियो । कवाडी वापतको रकम विभिचन महतोको छोरा रविकृष्ण महतोको खाताबाट छिरिङ शेर्पा र निमा तमाङको खातामा ९ लाख भुक्तानी गरेका थिए ।
पहिरोसँगै माथिल्लो तामाकोसीको २ तले सुरक्षा भवनमा ५६० केभीए क्षमताका ट्रान्सफर्मर, २ वटा जेनेरेटर, आल्मुनियमका मोटा–मोटा केबुल तार, केन्ट्रोल केबुलहरू, आर्थिक कण्डक्टरहरू पुरिएका थिए । माथिल्लो तामाकोसी जलविद्यु्त केन्द्र लामाबगरमा सशस्त्र प्रहरीको बिओपी, सीमा सुरक्षा प्रहरी चौकी, गोंगरमा रोल्वालिङ प्रहरी चौकी, सशस्त्र प्रहरीको पोष्ट र नेपाली सेनाको समेत चेक पोष्ट रहेको छ ।
यस अघि पनि माथिल्लो तामाकोसी कै सुरुङ भित्र रहेका ठूला ठूला क्रेनका करोडौं मूल्यका केबल चोरी भएको छ । त्यसको पनि चोर पत्ता लाग्न सकेको छैन ।