लमजुङ । लमजुङका १७ जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन थालेका छन् । यहाँका मर्स्याङ्दी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायतका खोलामा पानीकाे बहाब बढेसँगै केही हप्ताअघिदेखि पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको हो ।
गत मंसिरबाट घटेको विद्युत् उत्पादन यतिबेला पूर्ण क्षमतामा भएको हो । जिल्लामा उत्पादन थालेको सबैभन्दा ठूलो बेँसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य–मर्याङ्दी जलविद्युत् केन्द्रमा गत मंसिरको सुरुआतदेखि नै विद्युत् उत्पादन घटेर यस आयोजनाको विद्युत् २४ मेगावाट मात्र उत्पादन हुने गरेको थियो ।
यतिबेला भने मर्स्याङ्दी नदीमा पर्याप्त पानी भएकाले ७० मेगावाट नै उत्पादन भइरहेको मध्य–मर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख पवन बस्नेतले बताए । गत वर्षको तुलनामा केही ढिलो गरी विद्युत् उत्पादन बढेको उनको भनाइ छ ।
मध्य–मर्याङ्दी सन् २००८ मा निर्माण सम्पन्न भएको हो । उक्त आयोजना २७ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण भएकाे थियो । यो जलविद्युत् आयोजना जिल्लाकै पहिलो जलविद्युत् आयोजना हो । यसपछि जिल्लामा क्रमशः आयोजना निर्माण हुँदै बिजुली उत्पादन हुन थालेको छ ।
सो केन्द्रपछि मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा ५० मेगावाट क्षमताको माथिल्लो मर्याङ्दी ‘ए’ जलविद्युत् केन्द्रले बिजुली उत्पादन थाल्यो । यस केन्द्रकाे हिउँदमा बिजुली उत्पादन घटेर २५ मेगावाट मात्र उत्पादन भएकामा अहिले नदीमा पानी पर्याप्त भएसँगै पूर्ण क्षमतामा उत्पादन भइरहेको आयोजनाका इन्जिनियर कर्ण अधिकारीले बताए ।
उनले भने, ‘यस वर्ष उत्पादन घट्दा २५ मेगावाटको एउटा टर्वाइन मात्र चलाएका थियौँ, अहिले दुईवटा चलाएका छौँ ।’ यहाँ मात्र होइन यतिबेला नेपालभरिकै आयोजनाबाट बिजुली पूर्ण क्षमतामा उत्पादन हुने गरेको उनले बताए ।
त्यसैगरी, दोर्दी कोरिडोरमा रहेको पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको दोर्दी–६ ढोडेनीस्थित ५४ मेगावाटकाे सुपरदोर्दी ‘ख’ बाट पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेकाे छ । हिउँदमा यहाँकाे उत्पादन घटेर १३/१४ मेगावाटमा सीमित भएकाे थियाे ।
त्यसैगरी, ३० मेगावाटको ङादी जलविद्युत आयोजना, दोर्दी कोरिडोरमा रहेको हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले निर्माण गरेको २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत, दोर्दी–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरले निर्माण गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, ४.४ मेगावाटको राधीले पनि पूर्ण क्षमतामा उत्पादन सुरु गरेका छन् ।
३ मेगावाटको मिदिम करापु तथा २ मेगावाटको छ्याङ्दी आयोजनाबाट बिजुली पूरै क्षमतामा उत्पादन भएको छ । जिल्लामा विभिन्न जलविद्युत् केन्द्रबाट ३ सय मेगावाट बिजुली उत्पादन भएको बताइएको छ । जिल्लाका आयोजनामा बिजुली बढ्दा देशलाई नै आर्थिक रूपमा प्रभाव पार्छ ।