काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) र ६०७ मेगावाटका ५ वटा जलविद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीबीच ग्रिड जडान सम्झौता (ग्रिड कनेक्सन एग्रिमेन्ट) हुने भएको छ । कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा सागर श्रेष्ठले जिम्मेवारी सम्हालेपछि पहिलो पटक आज (असार १७ गते) यति ठूलो परिमाणको विद्युत् जडान सम्झौता हुन लागेको हो ।
कम्पनीले निर्माण गर्ने प्रसारण लाइनमा जडान सम्झौता हुन लागेका जलविद्युत् आयोजनाहरूमा ४४० मेगावाटको तीला, ७२ मेगावाटको मालुमेला सेती नदी (पिआरओआर), ५४ मेगावाटको महाकाली सेती क्यासकेड (पिआरआरओआर), ३१.९२ मेगावाटको अपर मेवा खोला ‘ए’ र ९.१४३ मेगावाटको सुपर दरौँदी रहेका छन् ।
तिलाको विद्युत् आरपिजिसिएलले निर्माण गर्न प्रस्ताव गरेको ४०० केभीको डबल सर्किट कर्णाली करिडोर प्रसारण लाइनअन्तर्गत कालिकोटमा प्रस्तावित फुकोट सबस्टेसनमा जोड्ने गरी सम्झौता हुन लागेको हो । त्यस्तै, मालुमेला सेती नदी र महाकाली सेती क्यास्केडको बिजुली ४०० केभीको डबलसर्किट पश्चिम सेती करिडोर प्रसारण लाइनअन्तर्गत बझाङमा बन्ने चैनपुर सबस्टेसनमा जोडिने भएको हो ।
अपर मेवा खोला ‘ए’ को बिजुली मेवा–ढुङ्गेसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन अन्तर्गत ताप्लेजुङको मेवा सबस्टेशनमा र सुपर दरौँदैको बिजुली १३२ केभी डबल सर्किट प्रसारण लाइनअन्तर्गत केराबारी सबस्टेसनमा जोड्ने गरी सम्झौता गर्न लागिएको हो ।
यसअघि सिइओको जिम्मेवारीमा डा. नेत्रप्रसाद ज्ञवाली हुँदा आरपिजिसिएलले प्रस्तावित प्रसारण लाइनहरूमा विद्युत् प्रवाह गर्ने गरी निर्माणका लागि अघि बढाइरहेका जलविद्युत् आयोजनाहरूसँग ग्रिड जडान सम्झौता गर्ने कार्यकाे सुरूवात गरेकाे थियाे । खुला प्रतिस्पर्धाबाट छनोट भई श्रेष्ठ २०८१ चैत १८ गते आरपिजिसिएलको नयाँ सिइओ नियुक्त भएका थिए ।