विद्युत अपडेट

  • प्राधिकरण : ९८३६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६१७२ मे.वा.घन्टा
  • आयात : २६९५ मे.वा.घन्टा
  • निर्यात : ५४६४ मे.वा.घन्टा
  • ट्रिपिङ : ३० मे.वा.घन्टा
  • ऊर्जा माग : ४९०८९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३५२ मे.वा.
२०८३ ब‌ैशाख १८, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनामा विवाद

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अगाडि बढाएको 'विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना' (इटिडिएसपी) को परामर्शदाता छनोट प्रक्रियामा गम्भीर कानुनी र प्राविधिक प्रश्न उठेको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालित यस आयोजनाको परामर्शदाता छनोटका लागि गरिएको वित्तीय प्रस्तावको मूल्यांकनमा 'अनिवार्य सर्त' पालना नगर्ने कम्पनीलाई समेत प्रतिस्पर्धामा सहभागी गराइएको हो ।

परामर्श सेवाका लागि इच्छुक ५ कम्पनी मध्ये जर्मनी कम्पनी गोपा टेक जिएमबिएचले ९३ लाख ५० हजार ९१२.३० अमेरिकी डलर तथा ७० लाख रुपैयाँ, जापानी नेप्पोन कोइ कम्पनी लिमिटेडले ९६ लाख ५० हजार ४१२.३० अमेरिकी डलर र भारतीय कम्पनी पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेडले ७५ लाख ५७ हजार ३८५.३० अमेरिकी डलर तथा ५५ करोड ७३ लाख ३३ हजार २७५ रुपैयाँको वित्तीय प्रस्ताव पेश गरेका थिए ।

प्राधिकरणद्वारा जारी आरएफपीको खण्ड २ अन्तर्गत आईटिसी र डाटा सिटको धारा १६.४ मा परामर्शदाताले स्थानीय खर्चसँग सम्बन्धित मूल्य अनिवार्य रूपमा राष्ट्रिय मुद्रा (नेपाली रुपैयाँ) मा तोक्नुपर्ने स्पष्ट व्यवस्था उल्लेख छ । जापानी कम्पनीले भने अमेरिकी डलरमा मात्र वित्तीय प्रस्ताव पेश गरेको । यहिँनिर प्राधिकरणले न्यायिक व्यवहार नगरेको देखिन्छ ।

२०८२ चैत ५ गते (१९ मार्च २०२६) मा खोलिएको वित्तीय प्रस्तावमा जापानी परामर्शदाता निप्पोन कोईले प्राधिकरणको खरिद निर्देशिका र 'डाटा सिट' को अनिवार्य प्रावधान उल्लंघन गरेको छ । डाटा सिटमै "कन्सल्टेन्ट मस्ट स्टेट लोकल कस्ट इन द क्लायन्ट्स कन्ट्री करेन्सी" भनिएको बुँदालाई प्राधिकरणले पूरै बेवास्ता गरेर सर्त पालना नगर्नेलाई समेत मूल्याङ्कनमा समावेश गरेर आफैँले समेत नियम उल्लङ्घन गरेको देखिन्छ । यस कार्यले छनोट प्रक्रिया र निष्पक्षतामाथि प्रश्न उठेको छ ।

प्राधिकरणले २०८१ साल चैत ८ गते (सन् २०२५,  २१ मार्च) आशयपत्र (इओआई) आह्वान गरी संक्षिप्त सूचीमा परेका पाँच संस्थालाई २०८२ कात्तिक २ गते (१९ अक्टोबर २०२५) प्रस्ताव (आरएफपी) पेश गर्न आमन्त्रण गरेको थियो । सो प्रक्रिया अन्तर्गत २०८२ पुस ३ गते (१८ डिसेम्बर २०२५) तीन अन्तर्राष्ट्रिय कम्पनीहरू - गोपा टेक, निप्पोन कोई र पावर ग्रिड इन्डियाले मात्र आफ्ना प्राविधिक र आर्थिक प्रस्ताव पेश गरेका थिए ।

नियम अनुसार स्थानीय खर्च स्वदेशी मुद्रामै हुनुपर्ने सर्त उल्लङ्घन हुनुलाई विज्ञहरूले 'कन्ट्रयाक्ट ब्रिच' (सम्झौताको सर्त उल्लङ्घन) को रूपमा व्याख्या गरेका छन् । सबै कम्पनीले फरक-फरक मुद्रा संरचनामा प्रस्ताव पेश गर्दा उनीहरूको वास्तविक लागत तुलना गर्न असम्भव प्रायः हुन्छ । अझ गम्भीर कुरा त आयोजना कार्यान्वयनको लामो अवधिभर अमेरिकी डलरको विनिमय दरमा हुने उतारचढावले अहिले सस्तो देखिएका प्रस्तावहरू भविष्यमा राज्यका लागि ठूलो आर्थिक भार बन्न सक्ने देखिन्छन् ।

भूमिगत प्रसारण तथा वितरण लाइन विस्तार, सबस्टेसन निर्माण लगायत क्षेत्रमा काम गर्ने आयोजनामा यति ठूलो प्रक्रियागत त्रुटि हुँदाहुँदै पनि प्राधिकरणले सम्बन्धित कम्पनीलाई अयोग्य घोषित नगर्नुले मिलेमतोको आशङ्का जन्माएको छ । अनिवार्य सर्त पालना नगर्ने संस्थालाई ठेक्का प्रदान गर्नु प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुने र यसले भविष्यमा आयोजनालाई कानुनी जटिलतामा फसाउन सक्ने देखिन्छ ।

ऊर्जा खबरलाई प्राप्त विवरण अनुसार प्राधिकरणले यस विषयमा गर्ने निर्णयले नै नेपालका ऊर्जा क्षेत्रका पूर्वाधार आयोजनामा वैदेशिक सहायता र पारदर्शिताको भविष्यमाथि पनि आशङ्का जन्माएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३