काठमाडौँ । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) बीच जगदुल्ला–ए आयोजनाबाट उत्पादन हुने विद्युत् प्रसारणका लागि समझदारी भएको छ । समझदारीअनुसार १२४.३५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् ४०० केभी क्षमताको भेरी कोरिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिने छ । आवश्यक प्रसारण पूर्वाधारको निर्माण तथा विस्तारमा दुवै कम्पनीले सहकार्य गर्ने भएका छन् ।
समझदारीपत्रमा आरपिजिसिएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सागर श्रेष्ठ र जगदुल्ला जलविद्युत् कम्पनीका सिइओ सञ्जय सापकोटाले हस्ताक्षर गरेका छन् । यो सहकार्यलाई नेपालको ऊर्जा प्रणाली सुदृढीकरण, विद्युत् आपूर्ति प्रणालीको विश्वसनीयता अभिवृद्धि तथा दीर्घकालीन प्रसारण क्षमता विस्तारतर्फ महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।
आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । अब वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गरी निर्माण चरणमा प्रवेश गर्ने तयारी भइरहेको जनाइएको छ । यो आयोजना डोल्पामा निर्माण गर्न लागिएको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको क्यास्केड आयोजना हो ।
यता, राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले करिब ७५ किलोमिटर लम्बाइको भेरी कोरिडोर प्रसारण लाइनसमेत निर्माणको तयारी गरिरहेको छ । उक्त लाइन एक्जिम बैंकको सहयोगमा निर्माण गरिने र अध्ययन सम्पन्न भई निर्माणको पूर्वतयारी अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।