काठमाडौँ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ६० मेगावाटको माथिल्लो तमोर 'ए' जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि प्रवर्द्धक कम्पनी युनियन हाइड्रोपावर लिमिटेडले उत्पादन अनुमतिपत्रको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ ।
नदी प्रवाहमा आधारित (आरओआर) ढाँचाको आयोजनाले तमोर नदी र दींगसम्बा खोलाको दोभानभन्दा २ किलोमिटर तल २५ मिटर लामो र ५ मिटर अग्लो बाँध निर्माण गरी ७।५ घनमिटर प्रतिसेकेन्ड डिजाइन डिस्चार्ज रहने गरी पानी उपयोग गर्ने छ । आयोजनाको मुख्य संरचना अन्तर्गत ६ हजार ६४० मिटर लामो हेडरेस सुरुङ, ५ मिटर व्यास भएको सर्ज ट्याङ्क, १।७७ किलोमिटर लामो भूमिगत पेनस्टक र ५६० मिटर लामो सतही पेनस्टक पाइप रहनेछन् ।
आयोजनाबाट वार्षिक औसत ३३३.८२२ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । उत्पादन हुने बिजुली १३२ केभीको ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत ढुङ्गेसाँघु सबस्टेसनमा जोडिने छ । विद्युत्गृहबाट निस्किएको पानीलाई ९३ मिटर लामो टेलरेस मार्फत पुनः तमोर नदीमै फर्काउने योजना छ ।
सरकारले २०८० माघ २२ गते मन्त्रीस्तरीय निर्णयबाट यस आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृत गरिसकेको छ । कम्पनीले बाँधभन्दा तल्लो तटीय क्षेत्रका जलचर र वनस्पतिका लागि प्रतिवेदनमा उल्लेख भएबमोजिम न्यूनतम पानी अविच्छिन्न रूपमा छाड्ने र निर्माणका क्रममा वातावरणमा प्रतिकूल असर नपर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएको छ ।
आयोजना निर्माण सुरु भएको ४८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विभागले आयोजना निर्माण गर्दा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा ३५ दिनभित्र लिखित राय प्रतिक्रिया दिन सरोकारवालाहरूलाई आह्वान गरेको छ ।