काठमाडौँ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० मा निर्माणाधीन २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत् आयोजनाले २२० केभी विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । तमोर इनर्जी प्रालिले निर्माण गरिरहेको उक्त आयोजनाको स्विचयार्डदेखि सोही जिल्लाको फक्ताङलुङ गाँउपालिका–१ हुँदै मिक्वाखोला गाँउपालिका–२ मा रहेको ७३ मेगावाटको मध्य–तमोर जलविद्युत् आयोजनाको स्विचयार्डसम्म उक्त लाइन निर्माण गर्ने भएको हो । आयोजनाले ४.७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको हो ।
यसका लागि अनुमति माग्दै प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको छ । कुल १३ वटा टावरहरू निर्माण गरिने प्रसारण लाइनअन्तर्गत आल्मुनियम कन्डक्टर्स स्टील रिइन्फोर्स्ड (एसिएसआर– ‘बिसिअन’) प्रकृतिका कन्डक्टर जडान गर्ने भएको हो ।
प्रसारण लाइनअन्तर्गतका टावरहरूको उचाइ ५२.२८ मिटरसम्म रहने तथा टावरहरू बिचको औसत दूरी ३५० मिटर हुनेछ । प्रसारण लइन आयोजनाको निर्माण कार्य ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य प्रवर्द्धक कम्पनीले राखेको छ ।
प्रसारण लाइन निर्माण गर्दा वातावरणमा उल्लेखनीय प्रतिकुल असर पर्ने देखिए ३५ दिनभित्र आफ्नो लिखित राय तथा प्रतिक्रिया दिन सरोकारवाला सबैमा आह्वान गर्दै विद्युत् विकास विभागले आइतबार सूचना जारी गरेको छ ।