काठमाडौँ । दोलखा र रामेछापको सीमामा निर्माणाधीन ९ मेगावाटको खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबि बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । आयोजनाको प्रवर्द्धक वण्डर्स इनर्जी प्रालि र बैंकबीच मंगलबार उक्त वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा एनएमबि बैंकका दिगो बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र प्रवर्द्धक कम्पनीका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।
सम्झाैता अनुसार करिब १ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबि बैंकले १२४ करोड रुपैयाँ ऋण लगानी गर्ने छ । बाँकी लगानीमध्ये स्वपुँजीबापत ३५ करोड रुपैयाँ सुनिश्चित भइसकेको र बाँकी ३० करोड रुपैयाँ चालु असोजभित्र जुटाउने तयारी भइरहेको कम्पनीका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिएका छन् ।
उनका अनुसार दोलखाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगंगा गाउँपालिका–१ मा निर्माणाधीन यो आयोजना २०८४ चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटानको स्वीकृति मन्त्रिपरिषद्बाट प्राप्त भइसकेको छ ।
आयोजनाका लागि निजी जग्गा खरिद, पहुँचमार्ग, गोदाम, आवासलगायत पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ । सिभिल, हाइड्रो–मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल निर्माण ठेक्का सम्झौता सम्पन्न भई हालसम्म करिब ३० प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।
गौरीशंकर संरक्षण क्षेत्रभित्र निर्माण हुन लागेको यो आयोजना नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनामध्ये उन्नत ‘हाइड्रो–सेलेक्ट टुल्स’ प्रयोग गरी सामाजिक तथा वातावरणीय अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने पहिलो आयोजना बन्ने दाबी गरिएको छ ।