झापा । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा काँकडभिट्टा नाकाबाट १ अर्ब ५० करोड १३ लाख ६५ हजार रुपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँका अनुसार आव २०८१/८२ को सोही अवधिको तुलनामा ५ करोड २२ लाख अर्थात् ३.६० प्रतिशतले पेट्रोलियम पदार्थ आयात बढेको हो ।
आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११.८० प्रतिशत अर्थात् ७ करोड ९१ लाख ५३ हजार रुपैयाँले बढेको छ ।
पेट्रोलियम पदार्थ आयातबाट ७४ करोड ८३ लाख ३२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ७७ करोड ३ लाखको ८ हजार ९०४ किलोलिटर पेट्रोल र ४४ करोड ११ लाखको ४ हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ ।
त्यसैगरी, २० करोड ३ लाख रूपैयाँको १ हजार ९३३ मेट्रिक टन एलपी ग्यास, ७ करोड ३ लाखको ७ सय ९२ किलोलिटर एटीएफ र १ करोड १३ लाख मूल्यको १ सय २८ किलोलिटर मट्टितेल आयात भएको छ ।