काठमाडौँ । जाजरकोट जिल्लाको नलगाड–मैनतडा (भेरी कोरीडोर) ४०० केभी विद्युत् प्रसारण लाइन निर्माण हुने भएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले उक्त प्रसारण लाइनको निर्माणका लागि अनुमति पत्रको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिई प्रक्रिया अघि बढाएको छ ।
कम्पनीका अनुसार जिल्लाको नलगाड नगरपालिकामा प्रस्तावित नलगाड सबस्टेसनदेखि सोही जिल्लामा पर्ने नलगाड, भेरी, रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपलिका, सानी भेरी गाँउपालिका, चौरजहारी नगरपालिका, सल्यान जिल्लाको कुमाख गाँउपालिका, बनगाड कुपिण्डे नगरपालिका र सुर्खेत जिल्लाको सिम्ता गाँउपालिका, गुर्भाकोट नगरपालिका हुँदै भेरीगंगा नगरपालिकामा प्रस्तावित मैनतडा सबस्टेसनसम्म जम्मा ७५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।
डबल सर्किट रहने उक्त लाइनबाट २ हजार ४०० मेगावाटसम्म विद्युत् शक्ति प्रसारण गर्न सहज हुनेछ । आयोजना अन्तर्गत १६० एमभिए क्षमतासहित ््४००/१३२ केभीको नलगाड सबस्टेशन र १३५ एमभिए क्षमतासहित ४००/१३२ केभी मैनतडा ग्यास इन्सुलेटेड सबस्टेसन समेत निर्माण गरिनेछ ।
प्रसारण लाइनअन्तर्गत १०८ मिटरदेखि ७७५ मिटरसम्मको दूरीमा पर्ने गरी २४४ वटा टावरहरू निर्माण गरिने छन् । आयोजना निर्माणका लागि कूल ३६९.७११ हेक्टर जमिन आवश्यक पर्ने छ । आयोजनाको निर्माण कार्य साढे ३ वर्षभित्र पूरा गर्न लक्ष्य कम्पनीले राखेको छ ।
आयोजना निर्माण गर्दा वातावरणमा कुनै उल्लेखनीय प्रतिकूल प्रभावपर्ने देखिए ३५ दिनभित्र आफ्नो लिखित राय प्रतिक्रिया पेश गर्न आग्रह गर्दै विभागले आइबार सूचना जारी गरेको छ ।