काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा बिहीबार दिउँसो हल्कादेखि मध्यमस्तरको वर्षा हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार यी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने अनुमान गरेको हो ।
त्यस्तै, कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा बिहीबार राती साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने र यीसहित बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, कोशी प्रदेशका पहाड र तराईका साथै मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको विभागले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ ।