म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइनको टावर निर्माण भएको जग्गाका धनीहरूलाई ३ करोड रुपैयाँभन्दा बढी मुआब्जा वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठन भएको उपसमितिले कायम गरेको मूल्यअनुसार टावर निर्माण भएको जग्गाका धनीहरूलाई मात्र हालसम्म ३ करोड २९ लाख ६४ हजार ५६७ रुपैयाँ मुआब्जा वितरण गरिएको हो ।
आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमिल्सिनाले मुआब्जाबापत २ करोड २९ लाख २९ हजार ७२८ वितरण भएको जानकारी दिए । ‘आयोजनाको ऋण लगानीकर्ता एसियाली विकास बैंक (एडिबी)को कार्यविधिअनुसार गरिब, महिला प्रमुख घरपरिवार, दलित, जनजाति, अशक्तको आधारमा थप १ करोड ३४ हजार ८३९ रुपैयाँ मुआब्जा वितरण भइसकेको छ,’ उनले भने ।
२५ किलोमिटर दूरीको प्रसारण लाइनका ८२ टावरमध्ये ४० वटा वन क्षेत्रमा र ४२ वटा व्यक्तिगत जग्गामा छन् । हालसम्म ६६ जनाले मुआब्जा बुझिसकेको र ७ जनाले बुझ्ने प्रक्रियामा रहेका प्रशासकीय अधिकृत तिमिल्सिनाले जानकारी दिए । विसं २०७९ मा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठन भएको उपसमितिले यस आयोजनाको टावर रहने जग्गाका धनीहरूलाई प्रतिरोपनी ९ लाखदेखि रु १३ लाख ५० हजार रुपैयाँसम्मका दरले मुआब्जा निर्धारण गरेको थियो ।
तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
प्रसारण लाइनको तारमुनि भोगाधिकार क्षेत्रमा पर्ने जग्गाका धनीहरूलाई पनि क्षतिपूर्ति वितरण गर्न दर निर्धारणको प्रक्रियामा रहेको आयोजनाले जनाएको छ । प्रसारण लाइनको बीच भागदेखि दायाँ–बायाँ नौ–नौ मिटरभित्र पर्ने निजी जग्गाका धनीहरूले क्षतिपूर्ति पाउने व्यवस्था छ ।
४५४ कित्ता जग्गा प्रसारण लाइनको तारमुनि भोगाधिकार क्षेत्रमा पर्ने प्रारम्भिक विवरण सङ्कलन भएको छ । यसैगरी, क्षतिपूर्ति वितरणका लागि पहिलो चरणमा तारमुनि पर्ने २२ वटा घरटहराको पहिचान भएको छ । तारमुनि पर्ने थप भौतिक संरचनाको पहिचान कार्यलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ ।
आयोजनाले सबस्टेसन निर्माणका लागि मालिका गाउँपालिका–७ बिमको डाँडाखेतमा ५१ रोपनी र रघुगङ्गा गाउँपालिका–३ राहुघाट अम्बाङमा ९० रोपनी जग्गा अधिग्रहण गरेको थियो । वन क्षेत्र प्रयोग गरेबापत ४ करोड ५० लाख रुपैयाँमा ५०४ रोपनी जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराइसकेको छ ।
प्रसारण लाइन प्रभावित क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १५ जनालाई सवारी चालक, १५ जनालाई हाउसवायरिङ र प्रभावित क्षेत्रमा पर्ने १९ सामुदायिक वनका २–२ जनालाई गैरकाष्ठ वनपैदावार तालिम प्रदान गरिएको छ ।
सामुदायिक वन उपभोक्ता समूहको मागअनुसार वन डढेलो नियन्त्रण र प्रशासनीय कार्य सञ्चालनमा आवश्यक सामग्री वितरण गरेको आयोजनाले प्रभावित क्षेत्रका १८ वटा सामुदायिक विद्यालय तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी गरेको छ । आयोजना प्रभावित मालिका गाउँपालिका–७, ६, मङ्गला गाउँपालिका–१, २, बेनी नगरपालिका–५, ९ र रघुगङ्गा गाउँपालिका–३ का मठमन्दिर, आमा समूह, विद्यालयलाई निर्माणजन्य जिन्सी सामग्री वितरण गरिएको छ । विभिन्न ठाउँमा जनचेतनामूलक होडिङ बोर्ड राखिएको छ ।
भौतिक प्रगति ७८ प्रतिशत
डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति भएको छ । म्याग्दी र राहुघाट बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन यो आयोजना सञ्चालन भएको हो ।
प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा ३ अर्ब ५७ करोड रुपैयाँमा लार्सन एन्ड टर्बो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । पहिलो पटकको म्याद गत जुलाई १६ र दोस्रोपटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ मे १६ सम्मका लागि तेस्रो पटक म्याद थपिएको छ ।
प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रुख कटान आदेश प्राप्त नुहुनु, राहुघाट सबस्टेसन निर्माणस्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले निर्माण अवधि लम्बिएको आयोजना प्रमुख रोशन अग्रवालले बताए । उनका अनुसार अबको ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेकेदारले निर्माणकार्यलाई तीव्रता दिएका छन् ।
१३२ केभी डबल सर्किट प्रसारण लाइनको हालसम्म ८२ वटामध्ये ७१ वटा खडा भएका छन् । २ वटाबाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । १०.५ किलोमिटरमा तार तान्ने काम पनि सकिएको आयोजनाका इन्जिनियर सुरज गुरुङले बताए । प्रसारण लाइन र सबस्टेसनको उपकरण आयात भइसकेको छ ।
डाँडाखेतको सबस्टेसनमा ९५ प्रतिशत, प्रसारण लाइनमा ७० प्रतिशत र राहुघाट सबस्टेसनमा ६५ प्रतिशत प्रगति भएको छ । एलएनटीका आयोजना व्यवस्थापक सुभाषचन्द्र शर्माले मजदुर र उपकरण थपेर तोकिएको समयभित्र सम्पन्न गराउने प्रतिबद्धता जनाए । ५१ रोपनी क्षेत्रफलमा निर्माण भएको सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान भइरहेको छ । २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
कुल ४ अर्ब ८८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणका लागि १ अर्ब ५ करोड रुपैयाँ विद्युत् प्राधिकरणको लगानी छ भने ३ अर्ब ८२ करोड रुपैयाँ एसियाली विकास बैंकको ऋण लगानी छ । एसियाली विकास बैंकसँग भएको २ करोड ७० लाख डलर ऋण सम्झौता पछिल्लोपटक बढाएर ३ करोड १ लाख डलर बनाइएको छ । एसियाली विकास बैंकले विद्युत् प्रसारण लाइन आधुनिकीकरण परियोजनामार्फत राहुघाट–डाँडाखेत प्रसारण लाइन बनाउन ऋण लगानी गरेको हो ।
म्याग्दी नदीमा कुल १७२.८ मेगावाट क्षमताका ४ वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८ मेगावाटको अपर राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले उत्पादन थालेका छन् ।
४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुँदी पावरले बनाएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभीको कालीगण्डकी प्रसारण लाइनमा जोडेका छन् ।