काठमाडौँ । र्दोदीखोला जलविद्युत् कम्पनी लिमिटेडले ३० मेगावाटको म्याग्दी खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण अघि बढाएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा निर्माण गर्न लागिएको आयोजनाको उत्पादन अनुमति पत्र माग गर्दै प्रवर्द्धक कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको हो ।
आयोजना अन्तर्गत म्याग्दी खोलाको पानी फर्काउन ८ मिटर अग्लो तथा १८ मिटर लामो मुख्य बाँध निर्माण गरिने छ । त्यस्तै, बाँधसँगै म्याग्दी खोलाको साइड इन्टेकबाट आउने पानीलाई ६ मिटर लामो ग्राभेल ट्र्याप हुँदै सेटलिङ बेसिनमा पुर्याइने छ । सेटलिङ बेसिनको लम्बाइ ५४ मिटर, ७.५ मिटर चौडाइ, र २.९५ मिटर गहिराइ हुने छ । त्यसपछि ४ हजार ७६० मिटर लामो सुरुङ हुँदै पानीलाई ५ मिटर ब्यास र ३० मिटर लम्बाइ भएको सर्ज ट्याङ्कमा पुर्याइने छ । त्यसमार्फत ७३२ मिटर (सतही) र ३१९.२७ मिटर (भूमिगत) लम्बाइनको १.३ मिटर ब्यास भएको पेनस्टक पाइपमार्फत विद्युत्गृहमा खसालेर विूद्यत् उत्पादन गरिने छ ।
आयोजना अन्तर्गत बाँध, ग्राभेल ट्रयाप, सेटलिङ बेसिन, हेडरेस टनेल, सर्ज ट्याङ्क, पेनस्टक पाइप, विद्युत्गृह, टेलरेस जस्ता संरचना धौलागिरि गाउँपालिका–४ मा निर्माण हुनेछन् ।
आयोजनाबाट वार्षिक १७७.०९८ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । उत्पादन हुने विद्युत्लाई २५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसनमा जोड्ने लक्ष्य राखिएको छ । आयोजनाको निर्माण २०८४ सालभित्रमा पूरा गर्ने लक्ष्य राखिएको छ ।