काठमाडौँ । बैतडीको डिलासैनी गाउँपालिकामा १ मेगावाटको गण्डीगाड साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर १ र २ मा रहेको गण्डीगाड खोलाको पानी सदुपयोग गर्दै कञ्चन ऊर्जा प्रालिले उक्त आयोजना विकास गर्ने भएको हो ।
स्थानीय जनप्रतिनिधि जनककुमार घडरी र इन्जिनियर डा. कृष्णप्रसाद दुलालको उपस्थितिमा प्रवर्द्धक कम्पनीका अध्यक्ष अनिश गौतमले घटस्थापनाका दिन (२०८२ असोज ६ गते) आयोजनाको शिलान्यास गरेका छन् । २०८० साल मंसिर १९ गते उक्त कम्पनी र नेपाल विद्युत् प्राधिकरणबिच आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको अध्यक्ष गौतमले बताए । उनका अनुसार अब चाँडै वित्तीय व्यवस्थापन पूरा गरी आयोजना दशैँपछि निर्माणमा लाने र १ वर्ष ६ महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाको विद्युत् बलाँच सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ । आयोजनामा लगानी गर्न इच्छुक स्थानीय प्रभावित तथा जिल्लाबासीका लागि समेत लगानीको अवसर प्रदान गर्ने कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर रानाले बताए ।