काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सबैभन्दा बढी विद्युत् खपत गर्ने र महसुल नियमित बुझाउने ग्राहकलाई सम्मान गर्दै विशेष सुविधा समेत दिन थालेको छ । प्राधिकरणले उपभोक्तासँगको सम्बन्धलाई हार्दिकतापूर्ण बनाई थप उचाइ दिन र हरित ऊर्जा खपत बढाउन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको अवधारणा अनुसार यस्तो रणनीति अपनाउन थालेको जनाएको छ ।
उपभोक्ता प्रोत्साहनको सुरुवात बिहीबार कोशी प्रादेशिक कार्यालयबाट गरिएको छ । कार्यालयबाट भइरहेको सेवा प्रणालीगत सुधार निरीक्षण गर्न त्यस सम्बन्धि आवश्यक निर्देशन दिन कोशी पुगेका शाक्यले गत वर्ष सर्वाधिक बिजुली प्रयोग गर्ने तथा नियमित महसुल भुक्तानी गर्ने १० जना उपभोक्तालाई सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक शाक्यले प्राधिकरणले आफ्नो सेवा विस्तारको पहिलो कडीका रूपमा प्रोत्साहन कार्य अघि बढाइएको बताए ।उद्योगी–व्यवसायी देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले प्राधिकरण र उद्योगीबीच सौहार्दपूर्ण, विश्वसनीय र अत्यन्त निकट सम्बन्ध हुनुपर्नेमा जोड दिए ।
‘उद्योग फस्टाए उर्जाको माग बढ्छ, प्राधिकरण फस्टाउँदा उद्योगले गुणस्तरीय, निरन्तर र भरपर्दो सेवा प्रवाह गर्न सक्छ,’ उनले भने । दुवै एकअर्काका परिपूरक सम्बन्धमा रहनुपर्ने भन्दै उनले दुई पक्षको विकासले समग्र देशकै विकासमा टेवा पुग्ने बताए ।
प्राधिकरणबाट सम्मानित भएका १० औद्योगिक उपभोक्ताका तर्फबाट बोल्दै नेपाल उद्योग परिसंघ (सिएनआइ)का कोशी प्रदेश अध्यक्ष पवन शारदाले पहिलो पटक उद्योगी व्यवसायीलाई सम्मान गरेर प्राधिकरणले आफूहरूलाई गौरवान्वित बनाएको तथा हौसला समेत बढाएको बताए ।
निजी क्षेत्र नाफामुखी मात्रै नभई रोगजारी सृजना गर्ने निकाय समेत भएको बताउँदै उनले यसले कुल गार्हस्थ उत्पादनसहित समग्र देशको अर्थिक उत्थानमा गरेको योगदानलाई समेत कदर गर्नुपर्ने बताए ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले ग्राहकसँग सुमधुर सम्बन्ध बनाउने कार्यकारी निर्देशक शाक्यको अभियान अन्तर्गत पहिलो कदमका रूपमा यो कोशीका औद्योगिक ग्राहकलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।
'सातै प्रदेशस्तरमा यो प्रोत्साहन अभियान चलाइने छ,' उनले भने, ‘अब केन्द्रीय स्तरमा पनि यस्तै सम्मान गरिनेछ र त्यस्ता ग्राहकलाई विशेष सुविधासमेत दिने छौँ ।’
प्राधिकरण अन्तर्गत कोशी प्रदेशको गर्जु र केरल १३२ केभी सबस्टेशन सञ्चालनम्मा आएपछि उक्त क्षेत्रको विद्दुत् आपूर्तिमा उल्लेख्य सुधार आएको समेत उनले बताए ।