काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा धौबादी फलामखानी विद्युत् प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको छ । यसका लागि अनुमतिपत्र माग गर्दै प्राधिकरणले विद्युत् विकास विभागमा दरखास्त पेश गरी प्रक्रिया अघि बढाएको छ ।
उक्त प्रसारण लाइनअन्तर्गत हेटौँडा–बर्दघाट २२० केभी प्रसारण लाइनको टावर नम्बर १०७ र १०८ को बीचबाट प्रस्तावित २२०/१३२/३३ केभी धौबादी सबस्टेसनसम्म लुप इन लुप आउट गरिनेछ । साथै भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइनको टावर नम्बर ३०० र ३०१ को बीच भागबाट सोही सबस्टेसनमा लुप इन लुप आउट गर्नेगरी कुल ४.५२५ किलोमिटर लम्बाइको विद्युत प्रसारण लाइन निर्माण गरिनेछ ।
आयोजना अन्तर्गत २ वटा भोल्टेज प्रणाली रहनेछन् । २२० केभी मल्टि सर्किट प्रणालीबाट ५१० मेगावाट विद्युत् प्रसारण गर्न सकिनेछ भने १३२ केभी डबल सर्किट प्रणालीबाट ६० मेगावाट विद्युत् प्रसारण गर्न सकिने छ । साथै यसै आयोजनाअन्तर्गत २२०/१३२ केभी २०० एमभिए र १३२/३३ केभी ६३ एमभिए क्षमताको धौबादी सबस्टेसन पनि निर्माण गरिनेछ ।
प्रसारण लाइन निर्माणका लागि कुल १६.९५ हेक्टर जमिन आवश्यक पर्नेछ । जसमध्ये टावर निर्माणका लागि १.४५ हेक्टर, सबस्टेसन निर्माणका लागि ४.९ हेक्टर जग्गा प्रयोग हुनेछ भने बाँकी १०.६० हेक्टर जग्गा विद्युत् मार्गको क्षेत्राधिकार (राइट अफ वे) अन्तर्गत पर्नेछ । आयोजनामा १६ वटा एङ्गल टावर र ४ वटा सस्पेन्सन टावर निर्माण गरिनेछ । टावरको अधिकतम उचाइ ७७ मिटर रहनेछ ।
विद्युत नियमावली, २०५० अनुसार प्रसारण लाइनको क्षेत्राधिकार २२० केभी प्रणालीका लागि मध्यविन्दुबाट दायाँ–बायाँ १५–१५ मिटर गरी कुल ३० मिटर र १३२ केभी प्रणालीका लागि ९–९ मिटर गरी कुल १८ मिटर कायम गरिने जनाइएको छ । प्राधिकरणका अनुसार आयोजना निर्माण कार्य करिब २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालनबाट वातारणमा उल्लेखनीय प्रतिकूल असर पर्ने देखिए ३५ दिनभित्र लिखित राय–प्रतिक्रिया दिन सरोकारवालालाई आह्वान गर्दै आइतबार (पुस ६ गते) सूचना प्रकाशित गरेको छ ।