काठमाडौँ । नेपाल - एनएमबि बैंकले आफ्ना ग्राहकलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले दुई वटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक गरेको छ । बैंकले ग्राहकको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै 'प्लाटिनम डेबिट डिलाइट' र 'प्लाटिनम डेबिट' कार्ड सार्वजनिक गरेको हो । यी कार्डहरूले ग्राहकको दैनिक बैंकिङ अनुभवलाई सहज र प्रिमियम बनाउने विश्वास बैंकले लिएको छ ।
नयाँ प्लाटिनम कार्डधारकले विभिन्न प्रिमियम आउटलेटमा आकर्षक छुटका साथै विमानस्थलमा लाउन्ज सुविधा पाउने छन् (सर्त लागु हुने) । विशेषतः धेरै यात्रा गर्ने र बैंकिङ सेवामा लचकता खोज्ने ग्राहकका लागि 'प्लाटिनम डेबिट डिलाइट' कार्ड निकै उपयोगी हुने देखिन्छ । यस कार्डमार्फत ग्राहकले नेपालभर कुनै पनि बैंकको एटिएमबाट निःशुल्क नगद झिक्न सक्नेछन् । भारतमा नगद झिक्दा समेत विशेष सहुलियत पाइने छ ।
डिजिटल बैंकिङमा सधैँ अगाडि रहने एनएमबि बैंकले आफ्ना ग्राहकलाई विशेष अनुभव प्रदान गर्न यी अत्याधुनिक सुविधा ल्याएको बताएको छ । यी नयाँ विशेषताले ग्राहकलाई उत्कृष्ट डिजिटल बैंकिङ अनुभव र विशिष्ट पहिचान प्रदान गर्नेमा बैंक विश्वस्त छ ।
यी नयाँ कार्डबारे थप जानकारी लिन वा सेवा लिन चाहने ग्राहकले आफ्नो नजिकैको एनएमबि बैंकको शाखामा सम्पर्क गर्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने छन् ।
एनएमबिले हाल देशभरका २०२ शाखा, १८४ एटिएम र ९ वटा एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई भरपर्दो वित्तीय सेवा दिँदै आएको छ ।