विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ भदौ २, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाली जलविद्युत् क्षेत्रमा लगानीको आकार बढ्दै जाँदा आयोजनाको नेतृत्वमा महिलाको उपस्थिति कमजोर देखिन्छ । यही रिक्तताबीच एउटी महिला जलविद्युत् उद्यमीको नेतृत्वमा झण्डै ७०० मेगावाट क्षमताका आयोजना अघि बढिरहेका छन् । उनी हुन्– सुसन कर्माचार्य ।

कर्माचार्यको नेतृत्व, लगानी र संलग्नतामा अहिले करिब ६८७.७९ मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न, निर्माणाधीन तथा वित्तीय व्यवस्थापनको चरणमा पुगेका छन् । जलविद्युत् विकासमा ठूलो लगानी, जोखिम र लामो समयको प्रतिबद्धता आवश्यक पर्ने भए पनि उनले पुरुषको वर्चस्वको यो क्षेत्रमा आफ्नै पहिचान बनाउँदै आएकी छन् ।

उनको पछिल्लो र सबैभन्दा ठूलो जिम्मेवारीमा आएको छ- ४४० मेगावाटको तिला–१ जलविद्युत् आयोजना  । हाल यसको २९८ मेगावाट क्षमताको विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ भने बाँकीको अगाडि बढाइएको छ । एससी पावर कम्पनी प्रालिले निर्माण प्रक्रिया अगाडि बढाएको तिला–१ हालसम्म निजी क्षेत्रले नेतृत्व लिएको सबैभन्दा ठूलो आयोजना हो । यसको आज (भदौ २ गते) वित्तीय व्यवस्थापन हुन गइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत निर्मित ४५६ मेगावाटको माथिल्लो तामाकोसीपछि हालसम्म देशमा निर्माण भएको सबैभन्दा ठूलो आयोजना हो । यसपछि सरकार र निजी क्षेत्र दुवैका लागि ठूला आयोजना अघि बढाउनु चुनौतीपूर्ण बन्दै आएको छ । यस्तो अवस्थामा यति ठूलो आयोजना वित्तीय व्यवस्थापनको चरणसम्म पुर्‍याउनु आफैंमा महत्वपूर्ण उपलब्धि हो ।

कर्माचार्य नै अध्यक्ष रहेको एससी पावरद्वारा प्रवर्द्धित तिला–१ मा एनएमबी बैंक लिमिटेडले लिड बैंकको भूमिका निर्वाह गरेको छ । यस्तै, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक को–लिड बैंकका रूपमा रहेका छन् । अन्य बैंक तथा वित्तीय संस्थाको समेत आयोजनामा सहभागिता रहेको कम्पनीले जनाएको छ ।

यति ठूलो आयोजनामा आवश्यक लगानी जुटाउनेदेखि वित्तीय संस्थासँग समन्वय गर्नेसम्मको प्रक्रियामा कर्माचार्यको नेतृत्वलाई निकै अर्थपूर्ण रूपमा समेत हेरिएको छ । यसअघि निजी क्षेत्रका टाइम्स इनर्जी प्रालिले ३४१ मेगावाटको बूढीगण्डकी आंशिकजलाशय र तमोर इनर्जी प्रालिले २८५ मेगावाटको माथिल्लो तमोरजस्ता ठूला आयोजना अघि बढाएका छन् ।

३६ मेगावाट सञ्चालनमा

ठूला मात्र होइन, कर्माचार्यको नेतृत्वमा विभिन्न साना तथा मध्यम आकारका आयोजना समेत निर्माण सम्पन्न भइसकेका छन् ।

कास्कीको सिक्लेसमा मादमे खोला हाइड्रोपावर लिमिटेडद्वारा निर्मित २४ मेगावाटको मादमे खोला उनको नेतृत्वमा बनेर सञ्चालनमा आएको ठूलो आयोजना हो । उनी त्यस कम्पनीको कार्यकारी अध्यक्षको जिम्मेवारीमा छन् ।

यसैगरी, सिन्धुपाल्चोकको ७.२७ मेगावाटको याम्बालिङ खोला र भोजपुरको ५ मेगावाटको पिखुवा खोला पनि कर्माचार्यकै नेतृत्वमा निर्माण सम्पन्न भएका आयोजना हुन् ।  उनी यी दुवै आयोजनाका प्रवर्द्धक कम्पनीहरू याम्बालिङ हाइड्रोपावर लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेड उनैले नेतृत्व गरेकी छन् ।

यसैगरी, निर्माण सम्पन्नसँगै कर्माचार्यको संलग्नतामा ८.५२ मेगावाटका आयोजना निर्माणाधीन छन् । बागलुङमा माइलस्टोन हाइड्रोपावर प्रालि मार्फत ४.५ मेगावाटको मध्यदरम खोला ‘बी’ र ह्वाइट गोल्ड मल्टी–इनर्जी लिमिटेडले अगाडि बढाएको ४.०२ मेगावाटको मध्यदरम खोला–ए रहेका छन् । यी दुवै कम्पनी पनि उनको नेतृत्वमा छन् ।

यसरी निर्माण सम्पन्न तथा निर्माणाधीन आयोजनाबाट उनले आयोजना विकासको व्यवहारिक अनुभवसमेत हासिल गरिसकेकी छन् ।

गह्रुङ्‌गो जिम्मेवारी

कर्माचार्यको सबैभन्दा ठूलो चुनौती र अवसर भने अब ठूला आयोजनामा देखिएको छ । उनको नेतृत्व तथा संलग्नतामा ६४३ मेगावाट क्षमताका दुई ठूला आयोजना वित्तीय व्यवस्थापनको चरणमा छन् ।

तिला–१ को वित्तीय व्यवस्थापनको टुंगो लागिसकेको छ । अब गोरखामा कैलाश इनर्जी प्रालिमार्फत निर्माण हुने २०३ मेगावाटको माथिल्लो बूढीगण्डकी आंशिकजलाशय आयोजना अगाडि बढाइएको छ । कम्पनीकी अध्यक्ष कर्माचार्य भन्छिन्– आयोजनाको प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) भइसकेको छ भने पिपिएको पालो कुरेर बसेको छ ।

तीला-१ र माथिल्लो बूढीगण्डकी मात्रै पूरा हुँदा जलविद्युत् विकासमा उनको नेतृत्वको उचाइ अग्लो हुने प्रस्ट छ ।

ऊर्जामा फेरिँदो अनुहार

जलविद्युत् आयोजना विकासलाई लामो समयसम्म पुरुषप्रधान व्यवसायका रूपमा हेरिँदै आएको छ । प्राविधिक जनशक्ति, वित्तीय जोखिम, राजनीतिक तथा प्रशासनिक समन्वय, जग्गा अधिग्रहणदेखि निर्माण व्यवस्थापनसम्मका जटिलताले ऊर्जा क्षेत्रको नेतृत्वमा महिलाको प्रवेशलाई अझ चुनौतीपूर्ण बनाएको छ ।

तर कर्माचार्यको यात्रा त्यस धारणालाई चुनौती दिने उदाहरण बनेको छ ।

केही मेगावाटका आयोजनाबाट सुरु भएको उनको संलग्नता अहिले सयौं मेगावाट क्षमताका आयोजनाको नेतृत्वसम्म पुगेको छ । अझ महत्वपूर्ण कुरा, उनको नेतृत्वमा आयोजनाहरू कागजमा मात्रै सीमित छैनन्; केही निर्माण सम्पन्न भइसकेका छन्, केही निर्माणाधीन छन् भने ठूला आयोजनाहरू वित्तीय व्यवस्थापनको निर्णायक चरणमा पुगेका छन् ।

यसले ऊर्जा क्षेत्रमा महिला नेतृत्व सम्भव मात्रै होइन, ठूलो आकारका आयोजना विकासमा समेत प्रभावकारी हुन सक्छ भन्ने सन्देश दिएको छ ।

नवीन सन्देश

कर्माचार्यको नेतृत्व तथा संलग्नता रहेका आयोजनाको कुल क्षमता ६८७.७९ मेगावाट पुगेको छ । यसमा निर्माण सम्पन्न ३६.२७ मेगावाट, निर्माणाधीन ८.५२ मेगावाट र वित्तीय व्यवस्थापनको चरणमा रहेका ६४३ मेगावाटका आयोजना समावेश छन् । यो संख्या एउटा व्यक्तिगत व्यावसायिक यात्राको आँकडा मात्रै होइन । यो नेपालको ऊर्जा क्षेत्रमा महिलाको नेतृत्व व्यापक विस्तार हुँदै गएको संकेतसमेत हो ।

तिला–१ को वित्तीय व्यवस्थापन सम्पन्नसँगै कर्माचार्यको यात्राले अर्को महत्वपूर्ण मोड लिएको छ । अब चुनौती आयोजना वित्तीयरूपमा बन्द गर्नु मात्र नभइ त्यसलाई समयमै निर्माण सम्पन्न गरी उत्पादनमा ल्याउनु हो । तिला–१ र माथिल्लो बूढीगण्डकीजस्ता ठूला आयोजना सफलतापूर्वक निर्माण भएमा नेपालको जलविद्युत् क्षेत्रमा महिला नेतृत्वको अलग्गै मान स्थापित हुनेछ ।

पुरुषको वर्चस्व रहेको क्षेत्रमा प्रवेश गरेर नेतृत्व लिनु त एउटा उपलब्धि हुँदै हो । सयौं मेगावाटका आयोजना जोखिम बोकेर निर्माणको चरणमा पुर्‍याउनु त्यस उपलब्धिलाई परिणाममा बदल्ने काम हरेकका लागि प्रेरणादायी सन्देशसमेत हो । सुसन कर्माचार्यको यात्रा यसरी उदाहरणीय बन्दै गएको छ ।

सुसन कर्माचार्यको नेतृत्व तथा संलग्नताका आयोजनाहरू

क्र.सं.

आयोजना

क्षमता (मेगावाट)

प्रवर्द्धक

अवस्था

मादमे खोला

२४

मादमे खोला हाइड्रोपावर लिमिटेड

सञ्चालनमा

याम्बालिङ खोला

७.२७

याम्बालिङ हाइड्रोपावर लिमिटेड

सञ्चालनमा

पिखुवा खोला

इस्टर्न हाइड्रोपावर लिमिटेड

सञ्चालनमा

मध्यदरम खोला ‘बी’

४.५

माइलस्टोन हाइड्रोपावर प्रालि

निर्माणाधीन

मध्यदरम खोला–''

४.०२

ह्वाइट गोल्ड मल्टी–इनर्जी लिमिटेड

निर्माणाधीन

तिला–१

४४०

एससी पावर कम्पनी प्रालि

वित्तीय व्यवस्थापन सम्पन्न

माथिल्लो बूढीगण्डकी

२०३

कैलाश इनर्जी प्रालि

वित्तीय व्यवस्थापन चरणमा/पिपीए पर्खाइमा

 

कूल

६८७.७९

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३