काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ‘एआई ह्याकाथन कार्यक्रम २०८२’ आयोजना गर्न लागेको छ । प्राधिकरणको डिजिटल रूपान्तरण, नवप्रवर्द्धन तथा कार्यसम्पादन सुधारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘एनइए एआई भिजन : पावरिङ टुमोरो’ भन्ने नारासहित कार्यक्रमको आयोजना गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
खास गरी संस्थाको वास्तविक सञ्चालन, व्यवस्थापन तथा प्राविधिक समस्याहरूको पहिचान गरी ती समस्याहरूको एआई–आधारित व्यावहारिक समाधान खोज्ने, प्रायोगिक (प्रोटोटाइप) समाधानहरू विकास गरी प्राकिरणको डाटा सेन्टर वा परिसरभित्र जडान गरी कार्यान्वयन गर्न सकिने बनाउन, संवेदनशील तथा गोप्य संस्थागत डाटाको पूर्ण नियन्त्रण कायम राख्दै ओपन एआई मोडलहरू प्रयोग गरी लागत–प्रभावकारी, सुरक्षित तथा दिगो समाधान विकास गर्न उक्त कार्यक्रमको आयोजना गर्न लागेको प्राधिकरणले जनाएको छ ।
कार्यक्रममा प्राधिकरणका सबै तह तथा कार्यालयमा कार्यरत कर्मचारीहरूले अधिकतम ५ जनासम्मको समूह बनाएर सहभागिता जनाउन पाउने छन् । सहभागिता जनाउन चाहने कर्मचारीको समूहले एआई अवधारणाको संक्षिप्त विवरण तथा प्रस्तावसहित आवेदन दिनुपर्ने छ । सूचना प्रकाशित भएको मितिले ३० दिनसम्म कार्यक्रमको अवधि रहने छ ।
प्राप्त प्रस्तावहरूमध्येबाट विज्ञसहितको मूल्याङ्कन समितिबाट छनोटमा परेका प्रस्तावकहरूले १५ मिनेटमा आफूले प्रस्ताव गरेको एआई अवधारणासम्बन्धी प्रस्तुतीकरण गर्नुपर्ने छ । एआई समाधानको व्यहारिकता, संस्थागत समस्या समाधानमा पार्ने प्रभाव, सुरक्षा लागत तथा कार्यान्वयन क्षमतालाई मूल्याङ्कनको आधार बनाइने छ । उत्कृष्ट प्रदर्शन गर्ने समूह तथा व्यक्तिलाई औपचारिक कदरपत्र तथा एआई सम्बन्धी वैदेशिक तालिमको व्यवस्था गरिने छ ।