काठमाडौँ । फ्रेस वाटर इनर्जी लिमिटेडले म्याग्दीमा १२.७३ मेगावाटको माथिल्लो मुडीखोला आंशिक जलाशय (पिआरओआर) जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । जिल्लाको धौलागिरि गाउँपालिकाको धौला खोला जलविद्युत् आयोजनाले छोडेको पानी र घुर्मा खोलाको पानीलाई सदुपयोग गर्ने गरी कम्पनीले उक्त आयोजना निर्माण गर्ने भएको हो ।
कम्पनीका अनुसार आयोजना अन्तर्गत उक्त दुवै खोलाको पानी फर्काउन २.६५ मिटर अग्लो १८ मिटर लामो बाँध निर्माण गरिने छ । बाँधबाट फर्काइने पानीलाई ३ हजार १४६ मिटर लामो ३ मिटर ब्यास भएको मुख्य सुरुङमार्फत विद्युत्गृहमा लगिने छ । आयोजनाको विद्युत्गृहमा रहने २ वटा युनिटमार्फत विद्युत् उत्पादन गरिने छ ।
आयोजनामाबाट वार्षिक औसत ७६.६१ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । उत्पादन हुने विद्युत्लाई १७ किलोमिटर लामो डाँडाखेत सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिने छ ।
२९८६ असोजभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको २०८० साल वैशाखमै प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइइई) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट स्वीकृत भइसकेको छ ।