काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका नजिक भएर बग्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक र भीषण बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । लेदो र गेग्रानसहित आएको बाढीले नदी किनारका बस्ती तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा ठूलो विनाश गरेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का उपाध्यक्ष तथा जलविद्युत् उद्यमी हिमप्रसाद पाठकले बाढीले ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण हुँदै गरेको क्याम्प पूर्णरूपमा बगाएको बताए । यसका साथै दोबान खोला र अन्य सहायक खोलाहरूमा आएको बाढीले सो क्षेत्रका विभिन्न पूर्वाधार तथा आयोजनाहरूमा समेत गम्भीर क्षति पुर्याएको छ ।
नदीको तीव्र बहावका कारण तटीय क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । प्रारम्भिक विवरण अनुसार बाढीले ३ देखि ४ वटा झोलुङ्गे पुल र एउटा महत्त्वपूर्ण बेली ब्रिज बगाएको छ । बाढीले नदी किनारका केही स्थानीय बस्ती तथा साना बजारहरूसमेत बगाएको बताइएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार यस घटनालाई गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीसँग तुलना गरेका छन् ।