काठमाडौँ । विद्युत् विकास विभागको महानिर्देशकमा जिबछ मण्डल नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट बिहीबार (२०८३ असोज २२ गते) उनलाई उक्त जिम्मेवारी तोकिएको हो । यसअघि महानिर्देशक रहेका रागरराज गाैतमलाई मन्त्रालयमा सरुवा गरी ल्याइएको छ ।
मण्डल तेस्रो पटक विभागको महानिर्देशक नियुक्त भएका हुन् । यसअघि २०८२ साउन २३ गते दोस्रो पटक विभागकाे महानिर्देशक बनेका थिए । २०८० माघ २३ गतेदेखि २०८१ साउन १७ गतेसम्म (झण्डै ५ महिना) उनी पहिलो पटक विभागको महानिर्देशक बनेका थिए ।
२०५३ साल मंसिरमा विभागको इन्जिनियरबाट सरकारी सेवा प्रवेश गरेका मण्डल २०७१ साल माघमा सहसचिवमा बढुवा भएका थिए । विभागको जिम्मेवारीमा प्रवेश गर्नुपूर्व मण्डलले १ वर्ष जनकपुर चुरोट कारखानामा इलेक्ट्रिकल सेक्सन इन्चार्ज र पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस पोखरामा इलेक्ट्रिकल इन्जिनियरिङ विभाग अन्तर्गत उप–प्राध्यापक भएर जिम्मेवारी पूरा गरेका थिए ।
मण्डलले कोलम्बो प्लान अन्तर्गत अलिगड मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र रुड्की विश्वविद्यालयबाट जलविद्युत् तथा व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन् ।