काठमाडौँ । सौर्य विद्युत् विकासमा लामो समयदेखि काम गर्दै आएको घाम पावर नेपाल प्रा.लि.ले पुरानो र नयाँ प्रविधिको संयोजन गरी 'सोलुबल लिड-फ्लो ब्याट्री' उत्पादन सुरु गरेको छ । बेलायतको साउथम्टन विश्वविद्यालयका अनुसन्धानकर्ताको सहयोगमा यो काम थालिएको हो ।
यस खालको ब्याट्री नेपालका लागि विकास र प्रदर्शन हुँदै गरेको एक उदीयमान ऊर्जा भण्डारण प्रविधि मानिएको छ । एक कार्यक्रमका बीच विश्वविद्यालयका प्राध्यापक रिचर्ड विल्सले ब्याट्रीले कसरी काम गर्छ र यसलाई कसरी निर्माण गरिन्छ भन्ने बारे जानकारी दिएका थिए ।
'सोलुबल लिड-फ्लो ब्याट्री'को मूल आधार प्रयोग भइसकेका ब्याट्रीबाट प्राप्त लिडलाई विद्युत् भण्डारणको मुख्य सामग्रीका रूपमा प्रयोग गर्न सकिन्छ । यसले ब्याट्रीलाई नयाँ जीवन दिनुका साथै सौर्य र जलविद्युत्बाट उत्पादित ऊर्जा भण्डारण गर्ने विकल्पको रुपमा काम गर्छ ।
नेपालको नवीकरणीय ऊर्जा क्षमता बढ्दै जाँदा भरपर्दो भण्डारणको आवश्यकता पनि बढ्दै गएको छ । यो समयमा नयाँ प्रविधिले नवीकरणीय ऊर्जा एकीकरण तथा लामो अवधिको स्थिर ऊर्जा भण्डारणको खाडल पूरा गर्न सक्ने अपेक्षा गरिएको छ ।
ब्याट्री कसरी चार्ज र डिस्चार्ज हुन्छ, अर्थात् इलेक्ट्रोडमा लिड कसरी जम्मा हुन्छ र पुनः हट्छ भन्ने बारे पनि प्राध्यापक विल्सले स्पष्ट पारेका थिए । यो नयाँ प्रविधिको विकासले अन्तर्राष्ट्रिय अनुसन्धान विशेषज्ञता र स्थानीय ज्ञानलाई एकै ठाउँमा ल्याई नेपालको परिस्थिति अनुसार अनुकूलन गर्ने पनि विश्वास गरिएको छ ।
सरकारले स्वच्छ ऊर्जा विकासमा जोड दिएको, यहीँकै स्रोत र आवश्यकतासँग मेल खाने, पुनःप्रयोग गरिएको सामग्रीमा आधारित भएकोले यो नेपालका लागि बढी प्रभावकार हुने घाम पावरका प्रमुख कार्यकारी अधिकृत अञ्जल निरौलाले बताए ।
सन् २०१० मा स्थापित घाम पावर एक सौर्य ऊर्जा कम्पनी हो, जसले ४,००० भन्दा बढी आयोजनामार्फत १८ मेगावाट सौर्य क्षमता स्थापना गरिसकेको छ । यसबाट ८८ हजार ६३६ टन भन्दा बढी कार्बन उत्सर्जन घटाएको दाबी गरेको छ ।
यस्तै ३३ हजार ७३ किलोलिटरभन्दा बढी डिजेल विस्थापन गरेको र ६० हजार जनजीवनमा सकारात्मक प्रभाव पारेको जनाएको छ । साथै, सौर्य प्रविधिलाई स्मार्ट डाटा प्रणालीसँग एकीकृत गर्दै कम्पनीले उद्योग, ग्रामीण समुदाय र कृषि क्षेत्रलाई ऊर्जा दिँदै, जीवाश्म इन्धनको विकल्पमा भरपर्दो स्वच्छ ऊर्जा पुर्याउने लक्ष्यसहित काम गर्दै आएको छ ।