काठमाडौँ । म्याग्दी जिल्लामा निर्माणाधीन ६.५ मेगावाटको तल्लो ठूलो खोला जलविद्युत् आयोजनाको इलेक्ट्रो–मेकानिकल कार्यको ठेक्का भारतको प्रतिष्ठित कम्पनी फ्लोभेल इनर्जी लिमिटेड इन्डियालाई दिने सम्झौता भएको छ । चितवन इनर्जी लिमिटेडले प्रवर्द्धन गरेको ६.५ मेगावाटको आयोजनाको उक्त ठेक्कासम्बन्धी सम्झौता सोमबार एक समारोहबीच भएको हो ।
सम्झौता पत्रमा प्रवर्द्धक कम्पनीका अध्यक्ष सुभाषचन्द्र बराल र फ्लोभेल इनर्जीका व्यापार तथा बजार निर्देशक भास्कर गुप्ताले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार आयोजनामा इलेक्ट्रो–मेकानिकल उपकरणको आपूर्ति, जडान तथा सञ्चालनको काम फ्लोभेल ले गर्ने छ ।
सम्झौता कार्यक्रममा बोल्दै फ्लोभेल इनर्जीका नेपाल प्रतिनिधि रन्जिल बस्नेतले आयोजनालाई तोकिएकै समयभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले फ्लोभेल को इलेक्ट्रो–मेकानिकल क्षेत्रको लामो अनुभव र दक्षतालाई उपयोग गर्दै आगामी एक वर्षभित्रै आयोजनाको सम्पूर्ण कार्य सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य रहेको जानकारी दिए ।
त्यस्तै, प्रवर्द्धक कम्पनीका निर्देशक गोपालप्रसाद न्यूरेले नेपालमा निर्माण भएका जलविद्युत् आयोजनाको प्रगति हेर्दा जलविद्युत् आयोजना निर्माणमा नेपाली इन्जिनियरहरू अब्बल बन्दै गइरहेको देखिएको बताएका छन् । यो आयोजनामा पनि इन्जिनियरहरूको अब्बल क्षमता प्रदर्शन हुने र समयमै निर्माण पूरा हुने विश्वास उनले व्यक्त गरे ।
२१.३० मेगावाटको ठूलो खोला जलविद्युत् आयोजनाको क्यास्केड आयोजनाका रूपमा यो आयोजना निर्माण गर्न लागिएको हो । यसले मुख्य आयोजनाबाट विद्युत् उत्पादन गरी निस्किएको पानीलाई पुनः प्रयोग गर्ने छ ।
आयोजनाअन्तर्गत विद्युत्गृहमा ३.२५ मेगावाटका २ वटा उत्पादन युनिट रहनेछन् । ११२ मिटर ग्रस हेड र ७.३ घनमिटर प्रतिसेकेन्ड पानीको बहाव रहने छ ।
आयोजनाको निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि मुलुकको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।