काठमाडाैँ । निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कामदार तथा कर्मचारीहरूको उद्धार कार्य निष्प्रभावी बनेको छ । ठूला एक्सकाभेटरलगायत उपकरणको अभावमा उद्धार कार्य प्रभावकारी हुन नसकेको हो ।
भदौ १० गतेको विनाशकारी भाेटेकाेसी बाढीपछि सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारमा आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका कर्मचारीसहितकाे उद्धार टाेली ४ दिनदेखि जुटिरहेको छ । यद्यपि, ठूला उपकरणको अभावका कारण पुरिएकाे सुरुङलगयात संरचना उत्खननको काम सुस्त बनेको आयोजनाका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेलले ऊर्जा खबरलाई बताए ।
उनका अनुसारआयोजनास्थलको दायाँ-बायाँ दुवैतर्फको बाटो बाढीले बगाएकाले ठूलो एक्सकाभेटरको पुऱ्याउन सकिएको छैन । अहिले सुरुङ क्षेत्रमा एउटा सानो एक्सकाभेटरले काम गरिरहेको छ भने थप २ वटा साना एक्सकाभेटर थप्ने तयारी भइरहेको छ । उद्धार स्थलमा लेदो र ठूला-ठूला चट्टान रहेकाले साना उपकरणबाट काम गर्न निकै सास्ती भइरहेको र मानिसहरू स्वयं खटिएर हातले काम गर्न असम्भव देखिएको छ ।
ठूला एक्सकाभेटरका पार्टपुर्जा फुकालेर लैजानका लागि पनि सबैभन्दा भारी भाग कम्तीमा चार टनको हुने र नेपालमा उपलब्ध एमआई-१७ हेलिकप्टरले बढीमा साढे २ देखि ३ टनसम्म मात्रै भार बोक्न सक्ने भएकाले एयरलिफ्ट गरेर लैजान असम्भव भएको उनको भनाइ छ ।
दुई वटा पङ्खा भएका 'चिनुक' जस्ता ठूला हेलिकप्टर मार्फत एयरलिफ्ट गर्न सके मात्र ठूला उपकरण पुऱ्याउन सकिने र त्यसका लागि छिमेकी वा मित्रराष्ट्रबाट सहयोग लिन सरकारसमक्ष पहल र अनुरोध गरिएको ढुङ्गेलले जानकारी दिए । यद्यपि, उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी उद्धार टोली निरन्तर खटिरहेको उनले जानकारी दिए ।