images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पर्वतको नयाँ मोदी र कास्कीको लेखनाथ जोड्ने १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना अन्तर्गत लाहाचोक सबस्टेसन संचालनमा आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सोमबार आयोजना अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ मा निर्माण गरिएको सबस्टेसन उद्घाटन गरेकी हुन् ।

सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, ८ एमभिएका पावर ट्रान्सफर्मर जडान गरिएको छ । सबस्टेसनमा स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ केभीका एकवटा लाइन बे र चारवटा ११  केभीका फिडरहरु रहेका छन् ।

नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्र्तगत पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा रहेको सबस्टेसनबाट लाहाचोकसम्मको १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । नयाँ मोदी १३२ केभी स्वीचिङ स्टेसनमार्फत मोदी जलविद्युत केन्द्र हुँदै लाहाचोक सबस्टेसन राष्ट्रिय ग्रिडमा जोडिएको छ । साथै सबस्टेसनबाट हेम्जा ३३/११ केभी सबस्टेसन पनि जोडिने छ ।

लाहाचोक सबस्टेसनबाट कास्कीको माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा  विद्युत आपूर्ति दिइएको छ । यसवाट त्यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र भरपर्दो भएको छ । पोखरावाट त्यस क्षेत्रमा विद्युत आपूर्तिको लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो ।

अब लाहाचोक सबस्टेसनवाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत सेवा सुधार भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत पाएका छन् । विद्युतको प्राविधिक चुहावट समेत घटेको छ ।

पर्वत, कास्कीलगायतका जिल्लाको विद्युत आपूर्ति सुधार गर्न र मोदी, सेती, मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना निर्माण सुरु गरिएको हो ।

अनुमानित लागत २ अर्ब २४ करोड रुपैयाँ रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र आयात निर्यात (एक्जिम) बैक भारतको सहुलियतपूर्ण ऋण रहेको छ ।

कार्यक्रममा मन्त्री भुसालले विगतमा वत्ति बाल्ने कुरा मात्रैै चर्चा हुने गरेकोमा अब उद्योग कलकारखाना, यातायातलगायतका सबै क्षेत्रमा विद्युतको उपभोग गर्ने अवस्थामा पुगिएको र नेपाल ऊर्जामा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेको बताइन ।

आन्तरिक रुपमा खपत गरेर बढी भएको विद्युत निर्यात गरी नेपालले व्यहोरीरहेको व्यापार घाटा कम गरिने उल्लेख गर्दै मन्त्री भुसालले अहिले हिउँदका केही महिना मात्र विद्युत आयात गर्नुपर्ने अवस्था रहेको बताइन । 

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले प्रसारण लाइन निर्माणमा स्थानीयले उठाएको वास्तविक समस्यालाई सम्बोधन गरी आयोजना निर्माण गरिनु पर्नेमा जोड दिए ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले आयोजनाप्रति स्थानीयको अपनत्व बढाउन निर्माणका क्रममा स्थानीयले उठाएका जायज मागलाई सम्बोधन गरिने बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि विद्युत आपूर्ति गुणस्तरीय तथा भरपर्दो भएको र यस क्षेत्रमा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा प्रवाह गर्न पूर्वाधार तयार भएको बताए ।

प्रसारण लाइन तथा सबस्टेसनको निर्माण नेपाल र भारतबीचको सहयोग मात्रै नभएर महत्वपूर्ण क्षेत्रमा विकास साझेदारी भएको भारतको विदेश मन्त्रालयका सहसचिव श्रीधरण मधुसुदनले बताए । 

नेपालमा विगत १६/१७ वर्षदेखि सहयोग गरिरहेको उल्लेख गर्दे प्रसारण लाइन र सबस्टेसनको निर्माणले स्थानीय समुदायलाई पनि लाभ दिने एक्जिम बैकका महाप्रवन्धक सरोज कुण्टियाले बैंकले बताए ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङले यस क्षेत्रमा १४३ मेगावाट विद्युत उत्पादन हुने सम्भावना रहेको बताउँदै आयोजना निर्माणमा स्थानीयको पिरमर्कालाई उचित सम्बोधन गर्न आग्रह गरे ।

नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ मोदीमा १३२ केभी स्वीचिङ सबस्टेसन, लाहाचोकमा नयाँ सबस्टेसन र लेखनाथ सबस्टेसनको स्वीचयार्डमा १३२ केभी लाइनको बे निर्माण कार्य सम्पन्न भएको छ । सबस्टेसन निर्माणका लागि हिताची इनर्जी लिमिटेड (एबिबी), भारतसँग ठेक्का सम्झौता भएको थियो ।

प्रसारण लाइन निर्माणका लागि कलपत्रु पावर ट्रान्समिसन लिमिटेड, भारतसँग ठेक्का सम्झौता भएको थियो । आयोजना अन्र्तगत नयाँ मोदी–लाहाचोक प्रसारण लाइन खण्ड निर्माण सम्पन्न भई लाइन सञ्चालनमा आइसकेको छ भने लाहाचोक–लेखनाथ खण्ड निर्माणाधीन छ । लाहाचोक–लेखनाथ खण्डमा पर्ने ७५ वटा टावरमध्ये १९ वटाको निर्माण बाँकी छ ।

माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिको विभिन्न ठाउँका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तन माग गर्दै अवरोध गरेका कारण निर्माण प्रभावित भएको छ । प्रसारण लाइनको लम्बाइ ४३ किलोमिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit