काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) र निजी क्षेत्रको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) बीच प्रसारण क्षेत्रको विकास, अध्ययन तथा अनुसन्धानमा सहकार्य हुने भएको छ । सोमबार (असार २२ गते) आरपिजिसिएलको कार्यालयमा भएको छलफलमा दुवै पक्षले देशको प्रसारण प्रणालीलाई सुदृढ बनाउन मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
बैठकमा आरपिजिसिएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सागर श्रेष्ठले निजी क्षेत्रसँग सहकार्य गर्दै प्रसारण पूर्वाधार विकास र अध्ययन-अनुसन्धानमा साझेदारी गर्नु समयको माग भएको बताए । 'कम्पनीको नियमित आम्दानी नभएकाले सरकारसँग समन्वय गरी प्रसारण लाइनको 'ह्वीलिङ चार्ज' (प्रसारण शुल्क) तोक्ने लगायत नीतिगत काम अगाडि बढेका छन्,' उनले भने, 'पुँजी अभावको समस्या सुल्झाउन अहिलेसम्म गरेको लगानीलाई नै स्रोत मानेर, त्यसैलाई धितो राखी थप व्यवस्थापन गर्न सकिन्छ ।'
सो अवसरमा आरपिजिसिएलका प्रसारण लाइन विज्ञ गगन मानन्धरले इपान र आरपिजिसिएलबीच सहकार्य तथा अध्ययन-अनुसन्धानको दायरा फराकिलो बनाउँदै जानुपर्ने बताए । विभिन्न नदी कोरिडोरमा प्रसारण लाइन विकास गर्दा एकीकृत ढङ्गले एउटै लाइन बनाउनु उपयुक्त हुने सुझावसहित उनले प्राविधिक प्रस्तुति दिएका थिए । कम्पनीका प्रवक्ता नगेन्द्रप्रसाद चौधरीले आरपिजिसिएलले हालसम्म गरेका कार्य प्रगति, भावी योजना र सहकार्यका सम्भावित मोडलहरूबारे प्रकाश पारेका थिए ।
छलफलमा इपानका अध्यक्ष मोहनकुमार डाँगीले आरपिजिसिएलसँग सहकार्य गरेर काम गर्न पाउनु निजी क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । प्रसारण क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रले विगतदेखि नै सरकारसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै उनले अबका दिनमा यसलाई अझ घनिभूत बनाउनुपर्नेमा जोड दिए ।
'नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यसँगै समानान्तररूपमा आरपिजिसिएलसँग पनि नयाँ शिराबाट काम गर्ने समय आएको छ,' उनले भने, 'अब बिस्तारै प्राधिकरणको प्रसारण संरचना आरपिजिसिएलमा हस्तान्तरण गर्नुपर्छ र प्रसारण तथा उत्पादनको सन्तुलन मिलाउन भार प्रेषण केन्द्र (एलडिसी) पनि यसै मातहत ल्याइनुपर्छ ।'
सोही क्रममा इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले निजी क्षेत्रका समस्या समाधान गर्न सरकारसँग निकट रहेर सहकार्य गर्न इपानले आफ्नो तर्फबाट लबिङ गरिरहेको बताए । त्यस्तै, उपाध्यक्ष हिमप्रसाद पाठकले अब प्रसारण लाइन तथा सबस्टेसन निर्माण गर्दा विद्युत्गृहको स्वीचयार्ड (पावरहाउस) मै मिटर जडान गरिनुपर्ने र त्यहाँसम्मको प्रसारण लाइन सरकारले नै बनाइदिनुपर्ने धारणा राखे । छलफलमा इपानका सदस्यहरू जगतबहादुर पोखरेल र सोमनाथ कँडेलले पनि यो सहकार्यले ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।
छलफलमा इपानका सचिव कुवेरमणि नेपाल र सदस्य प्रतीमा ज्ञवाली लगायत दुवै संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । यो सहकार्यले नेपालको विद्युत् प्रसारण लाइन निर्माणमा गति दिने र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूलाई थप सहज हुने अपेक्षा गरिएको छ ।