काठमाडौँ । संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिकामा अर्बिट इनर्जी लिमिटेडले १३२ केभी प्रसारण लाइन निर्माण गर्ने भएको छ । सभा खाेला 'बी' र 'सी' काे प्रवर्द्धक अर्बिट इनर्जीले सो प्रसारण लाइन बनाउन लागेको हो ।
कम्पनीका अनुसार उक्त प्रसारण लाइन ३२.२५ मेगावाटको सभा खोला 'बी'को स्वीचयार्डदेखि ९.९ मेगावाट बराबरको ‘सि’को स्वीचयार्ड हुँदै खाँदबारी नगरपालिकास्थित विद्युत् प्राधिकरणको शीतलपाटी सबस्टेसनसम्म निर्माण हुनेछ । २२.७३६ किलोमिटर दूरी निर्माण हुने यो प्रसारण लाइनअन्तर्गत ८४ वटा टावरहरू निर्माण गरिनेछ ।
तोकिएको प्रसारण लाइन निर्माणका लागि कुल ४५.९७४ हेक्टर जमिन आवश्यक पर्ने र त्यसमध्ये ८४ वटा टावरका मात्र ३.३६ हेक्टर जग्गा आवश्यक पर्ने कम्पनीले जानकारी दिएको छ । यसबाहेक विद्युत् मार्गको अधिकार क्षेत्रभित्र अन्तर्गत ४२.११४ हेक्टर जग्गा आयोजना निर्माणका लागि आवश्यक पर्ने उल्लेख छ । उक्त प्रसारण लाइनको निर्माण १७ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।