विद्युत आपूर्त : प्राधिकरण :६६४० मे.वा.घन्टा / निजी क्षेत्र :५७८२ मे.वा.घन्टा / आयात : ११९७४ मे.वा.घन्टा / ट्रिपिङ :६८ मे.वा.घन्टा / ऊर्जा माग :२४४६४ मे.वा.घन्टा/ उच्च माग :१४१७ मेगावाट
×
होटल, रेष्टुरेन्ट बन्द हुँदा गण्डकी ऊर्जाकाे दैनिक ५ सय किलो वायोग्यास खेर

होटल, रेष्टुरेन्ट बन्द हुँदा गण्डकी ऊर्जाकाे दैनिक ५ सय किलो वायोग्यास खेर

२०७७ असार १६

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को महामारीले पोखराका होटल तथा रेष्टुरेन्ट बन्द हुँदा गण्डकी ऊर्जाले उत्पादन गर्ने स्वच्छ वायोग्यास खेर गएकाे छ । खपत गर्ने होटल, रेष्टुरेन्ट नखुल्दा दैनिक ५ सय किलो वायोग्यास खेर गइरहेको हो ।

अहिले दैनिक २० टन फोहोरबाट ८ सय किलो ग्यास उत्पादन भइरहेकामा ६० प्रतिशत बढी ग्यास खेर गइरहेको गण्डकी ऊर्जा प्रालिका सञ्चालक कुशल गुरुङले बताए । उनका अनुसार लकडाउन भएपछि वायो ग्यासको माग ह्वात्तै घटेको हो ।

‘लकडाउनअघि दैनिक सय सिलिन्डर ग्यासकाे माग थियो,’ उनले ऊर्जा खबरसँग भने,‘अहिले खपत नहुँदा माग छैन । ग्यास बिक्रीका लागि वैकल्पिक ग्राहकको खोजी गरिरहेका छौं ।’ उनले उद्योग खुलेकाले ग्यास खरिदका लागि प्रस्ताव गरिरहेको बताए ।

एलपि ग्यास खपत हुने उद्योगमा लगेर वायोग्यासको परीक्षण गरेर देखाउने गरेको पनि उनले बताए । ‘तुलना नै गर्ने हो भने एलपि ग्यासभन्दा वायोग्यास किफायति छ । यही कुरा उद्योगीहरूलाई बुझाउने प्रयास गरिरहेका छौं । केही उद्योगले इच्छा देखाएका छन्’ उनले भने ।

सबै उत्पादन खपत नहुँदा दैनिक ५० हजार रुपैयाँभन्दा बढीको वायोग्यास उडेर खेर गइरहेको छ । ग्यास खेर जाँदा कम्पनी घाटामा चलिरहेको गुरुङले बताए । उनले दैनिक १२ सय किलो ग्यास र ३ टन मल बिक्री गर्न सकेमा मात्रै कम्पनी नाफामा जाने बताए ।

पोखरा–३२, मझुवाका स्थानीय युवा उद्यमी मिलेर २२ करोड रुपैयाँ लागतमा व्यावसायिक वायोग्यास प्लान्ट निर्माण गरेका हुन् । प्लान्ट सञ्चालन गर्न गाई, भैंसीको गोबर, कुखुराको सुली, बंगुरको खोरबाट निस्कने फोहोर तथा अन्य जैविक फोहोरको उपयोग हुँदै आएको छ । प्लान्टबाट २०७६ साउनदेखि ग्यास तथा मल उत्पादन सुरु भएको थियो ।

प्रतिक्रिया