काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा देशका सबै स्थानीय तहहरूलाई वातावरणीय सुधारमा लागनी गर्दै स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड दिनुपर्ने सुझाव दिइएको छ । प्रकृति स्रोत केन्द्रले अबको ५ वर्ष स्थानीय तहले वातावरणका क्षेत्रमा पूर्ण रूपमा जवाफदेही रहेर काम गर्नुपर्ने सुझाव दिएको हो ।
स्थानीय तह निर्वाचन, २०७९ लाक्षित गर्दै केन्द्रले पेश गरेको दस्तावेज र राजनीतिक दलहरूले अगाडि सारेका घोषणापत्रका आधारमा वातावरण र जलवायु परिवर्तनका विषयमा अबको पाँच वर्षमा गर्नुपर्ने महत्त्वपूर्ण कार्यको खाका प्रस्तुत गरिएको जनाइएको छ ।
‘पाँच वर्ष : पाँच काम’को नारा अनुसार स्थानीय तहमा भर्खरै निर्वाचन सकिएको नयाँ प्रतिनिधि आएको हुँदा स्वच्छ ऊर्जा र जलवायु परिवर्तनका सवालमा ठोस काम गर्न समेत सुझाइएको छ । केन्द्रले पाँच वर्षमा गर्नुपर्ने पहिलो काममा आगामी आर्थिक वर्षमा हरेक पालिकाले विनियोजन गर्ने बजेटमध्ये २५ प्रतिशत ‘वातावरण तथा विपद् व्यवस्थापन’ शीर्षकमा छुट्ट्याउनुपर्ने उल्लेख छ ।
विपद् जोखिम न्यूनिकरण,
कृषि, खानेपानी, वन, ऊर्जा लगायत क्षेत्रमा जलवायु अनुकूलन र कार्बन न्यूनिकरणका कार्यक्रम, वातावरणमैत्री स्थानीय शासन प्रारूपका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
यसैगरी, दोस्रो प्राथमिकतामा पालिकास्तरीय जलवायु उत्थानशील अनुकूलन कार्यक्रम बनाई कार्यान्वयन गर्ने र तेस्रो प्राथमिकतामा उत्थानशील ऊर्जा प्रणालीको विकास र ऊर्जा सुरक्षाका लागि ‘नवीकरणीय ऊर्जा प्रविधिहरूको घरेलु तथा व्यावसायिक प्रयोजनका लागि पहुँच सुनिश्चितता र प्रवर्द्धन गर्ने भनिएको छ ।
चौथोमा, फोहोरमैलाको उचित व्यवस्थापनका लागि ‘फोहोर वर्गिकरण, न्यूनिकरण, पुनः प्रयोग र प्रशोधन : फोहोरबाट ऊर्जा र रोजगारी सिर्जना गर्ने नीति तथा कार्यक्रम अवलम्बन गरिने जनाइएको छ । अन्तिम तथा पाँचौं प्राथमिकतामा दिगो विकासका लक्ष्य प्राप्तिमा कोही नछुटून्को अवधारणा अनुसार महिला, युवा, बालबालिका, अपांगता भएका व्यक्ति लगायत लक्षित ‘जलवायु विपद् जोखिम व्यवस्थापन, कृषि, पिउने पानी एवम् जीविकोपार्जनका कार्यक्रमहरू सञ्चालन हुनुपर्ने उल्लेख छ ।