विद्युत आपूर्त : प्राधिकरण :६६४० मे.वा.घन्टा / निजी क्षेत्र :५७८२ मे.वा.घन्टा / आयात : ११९७४ मे.वा.घन्टा / ट्रिपिङ :६८ मे.वा.घन्टा / ऊर्जा माग :२४४६४ मे.वा.घन्टा/ उच्च माग :१४१७ मेगावाट
×

‘पूर्वाञ्चलका सबस्टेसनहरू ओभर लोडेड भइसके, यसरी लामो समय टिक्दैन’

२०७७ कार्तिक १५

काठमाडाैं । पूर्वी क्षेत्रको विद्युत् माग करिब २ सय मेगावाट नजिक पुगेको छ । हिउँदमा केही घटे पनि गर्मी मौसममा एसी, पंखा, कुलर, फ्रिजलगायत विद्युतीय उपकरण लामो समय चल्ने हुँदा विद्युत खपत बढी हुने गरेको छ । नेपाल विद्युत प्राधिकरण प्रदेश–१ को प्रादेशिक कार्यालय विराटनगरअन्तर्गत दुहबी ग्रिडले पूर्वी क्षेत्रको माग र आपूर्ति व्यवस्थापन गर्दै आएको छ । यस क्षेत्रको माग र आपूर्ति व्यवस्थापन कसरी भइरहेको छ ? यसै सम्बन्धमा ऊर्जा खबरले दुहबी ग्रिड प्रमुख रेवतकुमार चौधरीसँग गरेको छोटो कुराकानी :

चाडपर्वमा पूर्वमा विद्युत्को माग र आपूर्ति व्यवस्थापन कसरी भइरहेको छ ?

पूर्वी तराईको कुरा गर्दा, यो वर्ष धेरै गर्मी हुँदा बढीमा १ सय ९६ मेगावाटसम्म पुगेको छ । अहिले पनि माग १ सय ८० मेगावाट हाराहारी नै छ । यस क्षेत्रको माग व्यवस्थापन आन्तरिक उत्पादन तथा आयातित विद्युतबाटै गरिएको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, तेह्रथुमलगायत जिल्लामा निजी क्षेत्रले सञ्चालन गरेका जलविद्युतगृहबाट उत्पादन हुने १ सय ३० मेगावाट विद्युत पूर्वमै खपत भइरहेको छ । यसबाहेक अपुग विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन तथा कुशाहा–कटैया मार्फत भारतबाट आयात गरिएको छ ।

दुहबी ग्रिडले कोसी नदीबाट करिब २५ किलोमिटर पश्चिम सप्तरीको मौली खोलासम्मको क्षेत्र हेर्छ । यसअन्तर्गत सुनसरीमा एउटा, झापा दमक र अनारमनी गरी दुई वटा, इलाममा गोदक र पाँचथरको फिदिममा थापाटार सबस्टेसन पर्छ ।

अहिले सुनसरीस्थित दुहबी सबस्टेसनको क्षमता १ सय २१ मेगावाटको छ । झापाको दमक (पाडाजुँगी) सबस्टेसनले बढीमा १ सय २४ मेगावाटसम्मको लोड धान्न सक्छ । झापाकै अनारमनी सबस्टेसनको क्षमता बढीमा ४३ मेगावाटसम्मको छ ।

यस क्षेत्रको अहिलेको आपूर्ति व्यवस्थापन सहज छ । चाडपर्वको समय भएकाले  उद्योगधन्दा बन्द छन् । यसो हुँदा आपूर्ति व्यवस्थापनमा समस्या छैन । दशैंको माग व्यवस्थापनमा कुनै समस्या नभए पनि तिहारको माग अहिलेको भन्दा केही बढ्छ ।

विराटनगरका उद्योगहरूले मागे जति विद्युत् पाउन नसकेको गुनासो छ । सबस्टेसन पनि ‘ओभर लोडेड’ छन् । ‘लो भोल्टेज’ को समस्या बढेको हो ?

सबस्टेसनहरू करिब ३ सय मेगावाटसम्मको लोड धान्न सक्ने भए पनि यो क्षेत्रमा १३२ केभी प्रसारण लाइनमा बढी समस्या छ । दुहबी ग्रिडबाट विराटनगरतर्फ गएका २ वटा ३३ केभी फिडर समेत ओभर लोडेड छन् । यही कारण केही समस्या देखिएको हो । समस्याग्रस्त ३३ केभी फिडर स्तरोन्नति गर्न टेण्डर भइसकेको भन्ने सुनिएको छ ।

पहिले पूर्वमा लो भोल्टेजको ठूलो समस्या थियो । ढल्केबरबाट दुहबी ग्रिडसम्म आउने १३२ केभी प्रसारण लाइनमा हुने प्राविधिक चुहावटको समस्याले लो भोल्टेज व्यवस्थापन गर्न सकिएको थिएन । १३२ केभी कुशाहा–कटैया प्रसारण लाइन सञ्चालनमा आएपछि यसमा धेरै सुधार भएको छ ।

गर्मी बढेर एसी, पंखा, कुलरलगायत विद्युतीय उपकरण बढी चलेको समयमा पनि भोल्टेजको समस्या आउने गरेको छ । तर, अब विस्तारै गर्मी कम हुँदै गएकाले माग व्यवस्थापन सहज हुँदैछ ।

उद्योगहरूमा क्पासिटर बैंक राखिएकाले त्यति धेरै समस्या छैन । उद्योगलाई मागअनुसार नै विद्युत् दिन विराटनगर वितरण केन्द्रले टंकी सिनवारी र कटहरी सबस्टेसनमा पावर ट्रान्सफर्मर थपेर स्तरोन्नति गर्ने तयारी छ । सबस्टेसन स्तरोन्नतिपछि विराटनगर क्षेत्रका उद्योगले पर्याप्त र गुणस्तरीय बिजुली पाउँछन् ।

१३२ केभी काबेली कोरिडोर प्रसारण लाइनमा यो वर्ष धेरै समस्या देखियो । प्राधिकरणको लापरबाहीले करोडौंको आर्थिक नोक्सानी व्यहोर्नु परेको निजी क्षेत्रको गुनासो छ नि ?

यो कुरा सत्य हो । २०७७ सालमा मात्रै काबेली कोरिडोरमा ६ पटक कन्डक्टर झर्यो । ६ पटक जम्पर चुँडियो । प्रसारण लाइनको तार चुँडिने समस्या देखियो । जेठदेखि असोज १८ गतेसम्म काबेली कोरिडोरमा यस्तो समस्या देखियो । १८ गते प्रसारण लाइनको ६३ नम्बर टावरको तार झरेको थियो ।

विषेश गरी, बर्खामा यस्तो समस्या आएकाले ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालित जलविद्युतगृह पूर्ण क्षमतामा चल्न पाएनन् । यो वर्षको बर्खामा २ पटक निजी क्षेत्रका विद्युतगृह लामोे समयसम्म बन्द गर्नुपरेको थियो । उहाँहरूले यही कुरा गर्नु भएको होला ।

यो प्रसारण लाइनले पूर्ण लोड लिँदा १ सय ६० मेगावाटसम्मको आन्तरिक उत्पादन थियो । तर, प्रसारण लाइनको सर्किटले १ सय मेगावाटभन्दा बढी धान्न नसकेकाले मध्य बर्खामा समेत विद्युतगृह पूर्ण क्षमतामा चल्न पाएनन् । अहिले विस्तारै उत्पादन घट्न थालेकाले समस्या समाधान हुँदै गएको छ । हिउँदमा अब प्रसारण लाइनले लोड नलिने समस्या आउने छैन भन्ने लाग्छ ।

यहाँले काबेली कोरिडोरमा आएको समस्याले विद्युतगृह चलेनन् भन्नुभयो । कति समय उत्पादन बन्द गर्नु परेको थियो ?

कति समयसम्म जलविद्युतगृह बन्द भए भन्ने यकिन त छैन । तर, एक पटक १८ घन्टासम्म जलविद्युतगृहको उत्पादन बन्द हुन पुगेको थियो । उत्पादन बन्द हुँदा पूर्वमा ‘ब्ल्याक आउट’ नै हुन पुगेको थियो । काबेली कोरिडोरमा समस्या देखिएको ठाउँ पत्ता लगाउन समय लागेकाले लामो समय निजी क्षेत्रको उत्पादन खेर गएको थियो । त्यसपछि पनि आंशिकरूपमा जलविद्युतगृहको उत्पादन प्रभावित हुँदै आएको छ ।

यो समस्याको समाधान कहिलेसम्म हुन्छ त ?

अहिले त अवस्था सामान्य छ । हिउँद सुरु हुन लागेकाले जलविद्युतगृहको उत्पादन पनि कम हुँदै गएकाले सबै लोड प्रसारण लाइनले लिइरहेको छ । वर्षामा प्रसारण लाइनको संरचनामा हुने क्षतिले समस्या आउने गरेको हो । तैपनि, प्रसारण लाइनको सर्किटको क्षमता बढाउनुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया