विद्युत आपूर्त : प्राधिकरण :६८५८ मे.वा.घन्टा / निजी क्षेत्र :५९८३ मे.वा.घन्टा / आयात : १२२२० मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग :२५०६१ मे.वा.घन्टा/ उच्च माग :१४०८ मेगावाट
×
प्राधिकरणको दोस्रो 'इनिङ' र चुनाैती

प्राधिकरणको दोस्रो 'इनिङ' र चुनाैती

२०७७ भदौ ७

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण विद्युत उत्पादन, प्रसारण र वितरणको महत्त्वपूर्ण जिम्मेवारी पाएको सरकारको स्वामित्वकाे सार्वजनिक संस्थान हो । हालसम्म विद्युत प्रसारण र वितरणमा निजी क्षेत्र संलग्न छैन । विद्युत उत्पादनमा निजी क्षेत्रले प्राधिकरणलाई पछि पारिसकेको अवस्था छ ।

वि.सं २०७३ भदाैमा कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त हुनुभन्दा अगाडि देशमा लोडसेडिङको भयावह अवस्था थियाे । साथै, प्राधिकरण लगातार घाटामा गइरहेको थियो ।कुलमानको विद्युत् प्राधिकरणमा आगमनका साथमा २ महत्त्वपूर्ण काम सोही आर्थिक वर्षमा नतिजामुलक ढंगबाट देखिए ।

ती हुन्, गार्हस्थ ग्राहकको लोडसेडिङ अन्त्य र आव २०७३/०७४ मै प्राधिकरण नाफामा जानु । यसरी, वर्षौंसम्म थलिएको प्राधिकरणमा यी २ महत्त्वपूर्ण कार्य भएपछि प्राधिकरणले आफ्नो पहिलो इनिङ सानदार सुरुवात गर्यो । जसबाट देशमात्र उज्यालो भएन, प्राधिकरणको छवीमा समेत उल्लेख्य सुधार भयो ।

प्राधिकरणले पहिलो  इनिङको मध्यतिर आव २०७४/०७५ मा औद्योगिक ग्राहकको समेत लोडसेडिङ अन्त्य गर्दै चुहावट नियन्त्रणमा उल्लेख्य सुधार गर्यो । जुन प्राधिकरणको आर्थिक अवस्था सुधारमा महत्त्वपूण कोसे ढुङ्गा सावित भयो ।

यस समयमा नयाँ प्रसारण लाइनको निर्माण, वितरण प्रणालीको स्तरोन्नती, नयाँ सवस्टेशनको निर्माण,नंया जलविद्युत आयोजनाको निर्माण,ग्राहक सेवालाई जनमैत्री बनाउने, कर्मचारी व्यवस्थापन लगायत महत्त्वपूर्ण काम भए । जसले प्राधिकरणलाई क्रमश: बलियो बनाउँदै लग्यो ।

पहिलो इनिङ्गको उत्तरार्द्ध आव २०७५/०७६ र अन्त्य आव २०७६/०७७ मा पनि प्राधिकरणले माथि उल्लेखित सुधारलाई निरन्तरता दियाे । र, आफ्नाे अवस्थामा व्यापक सुधार गर्यो । जसको परिणामः प्राधिकरणले आव २०७६/०७७ मा सम्पूर्ण सञ्चित घाटा पूर्ति गर्दै करिब साढे ४ अर्ब खुद मुनाफा आर्जन गर्यो ।

जुन प्राधिकरणको एक एेतिहासिक उपलब्धि हाे । यसरी प्राधिकरणले आफ्नो ४ वर्षको पहिलो इनिङ्ग खुद मुनाफा, चुहावट नियन्त्रण, लोडसेडिङको अन्त्य, प्रणाली सुदृढीकरण र कुशल आन्तरिक व्यवस्थापनसँगै सानदार तरिकाले अन्त्य गरेको छ ।

दाेस्राे इनिङ्ग

प्राधिकरणको पहिलो इनिङ्गको नेतृत्व कुलमानले सफलतापुर्वक सम्पन्न गरेका छन् भने उनको कार्यकाल सकिनै लागेकोले दोस्रो इनिङ्गको नेतृत्व उनैले गर्छन् वा सरकारले अन्य कसैलाई जिम्मेवारी दिन्छ ? त्यो विषय अहिलेसम्म गर्भमै छ । यद्यपि, आम जनताको मनोविज्ञान कुलमानलाई निरन्तरता दिनुपर्छ भन्ने नै रहेको पाइन्छ । जो कोही प्राधिकरणको नेतृत्वमा आए पनि अबको ४ वर्षे दोस्रो इनिङ्ग अवसर र चुनौती दुवैले सजिएको हुनेछ ।

प्राधिकरणको पहिलो इनिङ्गले सिर्जना गरेका अवसरको जगमा टेकेर आगामी नेतृत्वले दोस्रो  इनिङका महत्त्वपूर्ण कार्यभार पूरा गर्ने  तथा विद्यमान चुनौतीको सामना गर्नुपर्ने हुन्छ । प्राधिकरणको दोस्रो इनिङका लागि महत्त्वपूर्ण कार्यभार निम्न हुनेछन् :

१. प्राधिकरण र निजी क्षेत्रले हाल विभिन्न जलविद्युत। आयोजना निर्माण गरिरहेका छन् । ती आयोजनाबाट चालू आवमै करिब हजार मेगावाट विद्युत प्रणालीमा थप हुनेछ । उक्त विद्युत खेर जान नदिने व्यवस्था गर्नुपर्नेछ ।

२. निर्माणाधीन प्रसारण लाइनको शीघ्र निर्माण सम्पन्न गरी उत्पादित विद्युत् खेर जानबाट जोगाउनुपर्ने, प्रसारण लाइन समयमा सम्पन्न नहुँदा उत्पादित विद्युत् खेर जानुका साथै जलविद्युत् आयोजनाको निर्माण ढिलाइ हुन जान्छ ।

३. जलविद्युतको निर्यातभन्दा जलविद्युतको आन्तरिक खपत बढाउन ठोस योजना तयार गरी कार्यान्वयन गर्ने ।

४. वितरण प्रणालीको स्तरोन्नती गरी विद्युतको गुणस्तर बढाउने ।

५. भारतबाट आयातित विद्युत्को अंश न्यूनिकरण गर्दै देशलाई विद्युत्मा आत्मनिर्भर गराउने ।

६. महालेखापरीक्षकको लेखा प्रतिवेदनले समेत प्राधिकरणले सार्वजनिक खरीद ऐनको उल्लंघन गरेको प्रतिवेदन पेश गरेकोले खरीद प्रक्रियामा व्यापक सुधार गर्ने ।

७. सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउदै ग्राहक सन्तुष्टि अभिबृद्धि गर्ने ।

८. कर्मचारीतन्त्रमा व्यापक सुधार गर्दै सेवा प्रवाहका नविनतम अभ्यासको अवलम्बन गर्ने ।

९. कर्मचारी संगठनको प्रभावकारी व्यवस्थापन गर्ने ।

१०. विद्युत् प्राधिकरणलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने ।

११. देशका सबै घरधुरीमा विद्युत् पुर्याउनुपर्ने, हाल करिब ८६ प्रतिशत जनता विद्युत्को पहुचमा छन् ।

यी र यस्तै अन्य कार्यभार तथा चुनौती प्राधिकरणको दोस्रो इनिङ्गका लागि तम्तयार अवस्थामा छन् । आशा छ, आगामी नेतृत्व आफ्नो कार्यभार तथा जिम्मेवारी पूरा गर्न सक्षम हुनेछ । प्राधिकरण गर्व गर्न लायक सार्वजनिक संस्थान हुनेछ । दोस्रो इनिङ्ग पनि पहिलो जस्तै  सानदार हुनेछ । आगामी नेतृत्वलाई शुभकामना ।

केसी, प्राधिकरणका कर्मचारी हुन्

प्रतिक्रिया