विद्युत आपूर्त : प्राधिकरण :५७८० मे.वा.घन्टा / निजी क्षेत्र :६१९७ मे.वा.घन्टा / आयात : ११२४० मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग :२३२१७ मे.वा.घन्टा/ उच्च माग :१३३५ मेगावाट
×

रुग्ण २० जलविद्युत आयोजना, अपारदर्शी व्यवस्थापन र कमसल टर्बाइनले डुबायो

२०७६ भदौ १२

काठमाडौं । सञ्चालन खर्च पनि धान्न नसकेर अति रुग्ण अवस्थामा पुगेका २० जलविद्युत आयोजना धराशायी हुनुमा तत्तत् कम्पनी र व्यवस्थापन नै जिम्मेवार रहेको पाइएको छ । आर्थिक अपारदर्शिता, कमजोर व्यवस्थापन तथा सस्ता उपकरण प्रयोगले आयोजनाहरू डुब्दै गएको देखिएको हो ।

कतिपय आयोजना निर्माण पूरा गरेर सञ्चालनमा आएको एक वर्षमै रुग्ण भइसकेको पत्ता लागेको छ । यस्ता आयोजना सञ्चालनको १४ वर्षसम्म निरन्तर घाटामा छन् । ऊर्जा खबरले गरेको खोजअनुसार आयोजना रुग्ण हुनुमा अपारदर्शी व्यवस्थापन र कमसल तथा सस्ता टर्बाइन प्रयोग मुख्य कारक रहेको भेटिएको छ ।

रुग्ण अवस्थाका आयोजना उकासिदिन वा सरकारले नै लिलाम गरिदिन प्रवर्द्धकहरूले आग्रह गर्दै आएका छन् । चर्को बैंक ब्याज, घोषित सरकारी सुविधा नपाउनु, प्रसारण लाइन अभाव लगायत कारणले आयोजनाहरू रुग्ण भएको ‘रुग्ण जलविद्युत आयोजना समन्वय समिति’को दाबी छ । निजी क्षेत्रलाई उपेक्षा गरेकाले पनि आयोजना टाट पल्टेको उसको तर्क छ ।

कतिपय अवस्थामा समितिको दाबी उचित पनि देखिन्छ । निरन्तर बढिरहने बैंक ब्याज, सरकारले घोषणा गरेर पनि नदिएका सुविधा तथा स्वदेशीको तुलनामा विदेशी लगानी भएका आयोजनालाई बढी प्राथमिकता दिँदा पनि समस्या देखिएको छ । तर, निर्माणको सुरुमै ‘रातारात कमाऊँ’ भन्ने नियत राख्ने प्रवर्द्धकका बदमासीले आयोजना रुग्ण हुँदै गएको निजी क्षेत्रले नै स्वीकारेको छ ।

उल्लेखित रुग्ण अधिकांश आयोजनाले कमसल, कम कार्यक्षमता र कमजोर प्रभावकारी सस्ता चिनियाँ तथा अष्ट्रियन–भारतीय टर्बाइन प्रयोग गरेका छन् । ती टर्बाइन जडान गरेर सञ्चालन गरेको पहिलो वर्षदेखि बिग्रेर प्रवर्द्धकहरू डुबेको भेटिएकाे छ । राम्रो हाइड्रोलोजी (पानीको बहाब) वा हिमनदीमा निर्माण भएका आयोजना समेत रुग्ण हुनुमा कमसल उपकरण र व्यवस्थापन नै जिम्मेवार देखिन्छ ।

यद्यपि, खानी खोला हाइड्रो पावर कम्पनीले निर्माण गरेको टुंगुन–ठोस्ने (४.३६ मेगावाट) र खानी खोला (२ मेगावाट) भने कमजोर हाइड्रोलोजी, कमसल टर्बाइन र व्यवस्थापनका कारण रुग्ण बनेका होइनन् । यसमा नेपाल विद्युत प्राधिकरण र प्रसारण लाइन निर्माणकर्ता ठेकेदारको लापरबाहीले लामो समयसम्म दुवै आयोजनाको बिजुली प्रणालीमा आउन सकेको छैन । आयाेजनाले अहिलेसम्म करेडाैं रुपैयाँ नेक्सान बेहेरिसकेकाे छ ।

अब प्रवर्द्धकहरूले विगतको गल्ती सच्याएर अगाडि बढ्नुपर्ने देखिन्छ । निर्माणको सुरुमै अपनाउनुपर्ने सावधानी, उपकरण प्रयोग, व्यवस्थापन लगायत पक्ष सच्चिएन भने निजी प्रवर्द्धकको भविष्य त्यति राम्रो नरहेको यस क्षेत्रका जानकारहरू बताउँछन् । तैपनि, रुग्ण भइसकेका आयोजना अप्रत्यक्षरूपमा राज्यकै भएकाले यिनको उद्दार गर्नु सरकारको दायित्व हुन्छ ।

समितिले राखेका जायज माग शसर्त सम्बोधन गर्नुपर्ने देखिन्छ । जबकि भविष्यमा उनीहरूबाट हुने गल्ती दोहोरिनु भएन । आयोजना रुग्ण हुँदा निर्माणक्रममा कमाउनेले कमाइसक्छन् । पछि थपिने लगानीकर्ता, सर्वसाधारण तथा बैंकका निक्षेपकर्ता मारमा पर्छन् । यसले सिंगो अर्थतन्त्रमै ठूलो धक्का पुग्नेछ ।

प्रवर्द्धकले पुरानो कार्यशैली परिवर्तन गरेर आयोजना पुनर्निर्माण गर्न सक्छन् । यसक्रममा रुग्ण आयोजना गुणस्तरीय तथा उच्च कार्यक्षमतायुक्त र प्रभावकारी टर्बाइनले पुनस्र्थापना गर्न सकिने सम्भावना छ । यसो गर्दा आयोजनाको आर्थिक अवस्था सुधार हुने प्रशस्ता सम्भावना पनि छन् ।

रुग्ण प्रवर्द्धक, नयाँ निर्माणकर्ता र निर्माणमा जाने आयोजनामा सुरुदेखि नै हाइड्रोलोजीको प्रभावकारी अध्ययनलाई पहिलो प्राथमिकता दिनुपर्छ । योसँगै आर्थिक पारदर्शिता, कुशल व्यवस्थापन र उपकरण प्रयोगलाई त्यतिकै महत्त्व दिँदा आयोजना निर्माणपछि पछुताउनुपर्ने अवस्था आउँदैन ।

प्रतिक्रिया